२० मंसिर २०७८, सोमबार

अझै उत्पादन हुन सकेन माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युत्

Upper Marsyangdi Bhulbhule 768x474 1

बाढी पहिराले क्षति पु¥याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन ।

गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै संरचना हालसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा विद्युत् उत्पादन हुन नसकेको हो ।

आयोजनाका अनुसार दुई वटै टर्बाइनलगायतका संरचनामा क्षति पुगेको छ । अन्य संरचना निर्माण भइरहेको छ । यी दुवै टबाईन नै नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत् उत्पादन गर्न करिब तीन महिना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार उक्त बाढीले आयोजनाको बाँधस्थलदेखि पावर हाउस र ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ । यस ११ केभीका १० खम्बा बगाएको थियो भने ३० ढालेको थियो । यति बेला खम्बा राख्ने तथा मर्मत गरिएको आयोजनाले जनाएको छ ।

यसरी बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति बनाएपछि विद्युत् उत्पादन हुन नसक्दा दैनिक करिब रु एक करोडको हाराहारीमा नोक्सान भइरहेको आयोजना जनसम्पर्क अधिकृत अधिकारीको भनाइ छ ।

आयोजनाका अनुसार बिजुली उत्पादन नहुँदा हालसम्म रु ७५ करोडभन्दा बढी नोक्सान भइसकेको छ । अझै तीन महिनासम्मै बिजुली उत्पादन गर्न लागेमा करिब रु एक अर्ब नोक्सान हुने बताइएको छ । क्षतिग्रस्त विद्युत् गृहका उपकरण चीनबाट आयात गर्ने तयारी भएको आयोजनाले जनाएको छ । त्यस्तै क्षति पुगेका आयोजनाका अन्य संरचनामा मर्मत कार्य जारी छ । विद्युत् उत्पादन थालेको आयोजनामध्ये यो आयोजना जिल्लाकै दोस्रो हो ।रासस