६ चैत्र २०८०, मंगलवार

राजधानी काबुल विष्फोटनः ज्यान गुमाउनेको संख्या १७० पुग्यो

kabul airport 1

अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ज्यान गुमाउनेको संख्या १७० पुगेको छ । यो घटनामा दुई जना बेलायती नागरिकको समेत ज्यान गएको पुष्टि भएको छ । बेलायतले काबुल विमानस्थल बाहिर भएको हमलामा आफ्ना दुई जना नागरिकको ज्यान गएको पुष्टि गरेको हो ।

घटनामा डेढ सयभन्दा धेरै घाइते भएका छन् । बिहीवार राति भएको आत्मघाती बम विस्फोटको जिम्मा आतङ्कवादी सङ्गठन आईएसले लिएको छ ।

यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट पछि पनि उद्धार कार्य जारी नै रहने बताएका छन ।

बाइडेनले आफ्नो मिसन पूरा गर्नै पर्ने र त्यो जसरी पनि गर्ने बताएका छन । राष्ट्रपति बाइडेनले विस्फोटमा संलग्नहरूलाई कारबाही समेत हुने दाबी गरेका छन । बम विस्फोटपछि पनि देश छाड्न चाहने हजारौँ मानिस विमानस्थल बाहिर जम्मा भएका छन् ।

विमानस्थल बाहिरको क्षेत्र तालिबानले नियन्त्रण लिएर सुरक्षा दिने प्रयास गरिरहेको बिबिसीले जनाएको छ ।