१४ बैशाख २०८१, शुक्रबार

जबरामाथि प्रश्न उठाएपछि विषय प्रवेश नै नगरी बहस सकियो

cholendra shumsher

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्ध परेको रिटमाथिको आजको बहस सकिएको छ ।

संवैधानिक इजलासमा झण्डै ८ महिनापछि आजका लागि पेशी तोकिएको सो रिटमा स्वार्थ बाझिने भन्दै रिट निवेदकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि प्रश्न उठाएपछि विषय प्रवेश नै नगरी आजको बहस सकिएको हो ।

इजलासमा रिट निवेदकहरुले परिषद् सदस्यका हैसियतमा प्रधानन्यायाधीश जबराले अध्यादेश अनुसार संवैधानिक परिषद्ले निर्णय गरेको र अध्यादेश संविधानसम्मत रहेको भनी लिखित जवाफ लेखेकाले जबरा रहित इजलासबाट सो रिटको सुनुवाइ हुनुपर्ने बताउनुभएको थियो ।

इजलासमा प्रधानन्यायाधीश जबरा बस्ने/नबस्ने भन्नेबारे बहस चलेपछि न्यायाधीशहरू सो विषयमा छलफल गर्ने भन्दै उठेपछि आजको बहस विषय प्रवेश नै नगरी सकिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ३० मङ्सिर २०७७ मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्धको रिटमा झण्डै ८ महिनापछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासले आज सुनुवाइ सुरु गरेको थियो ।