४ बैशाख २०८१, मंगलवार

लाइसेन्स परीक्षाका लागि मापदण्डः एक सिफ्टमा ५० जना सहभागी हुन पाउने

licence

कोरोना भाइरस (कोभिड-१९)का कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ ।

तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने छ ।

विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ । परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टाअगाडि जानकारी गराइने विभागले जनाएको छ । तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा समेत सामेल हुन नपाउने विभागले जनाएको छ ।

परीक्षा सञ्चान गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने मापदण्डमा उल्लेख छ । मापदण्डअनुसार परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैँ गर्नुपर्नेछ।

परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्रै केन्द्रमा उपस्थित हुनुपर्ने छ। परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्दा, सौचालय जाँदा अथवा निस्किदा भिडभाड गर्न पाइने छैन ।