२६ बैशाख २०८१, बुधबार

वाग्मती प्रदेश मातहत मन्त्रालयमा व्यापक अनियमितता, नियमावलीविपरित २७ कराेडका सामग्री खरिद

5ff94f4c9ac51 BAGMATI PARDESH

बागमती प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालयहरूले २७ करोड १७ लाख ४९ हजार रुपैयाँको विभिन्न सामग्री सोझै खरिद गरेको पाइएको छ ।

प्रदेश सरकार मातहतका ७ वटा मन्त्रालय र २० वटा निकायले सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत विभिन्न सार्वजनिक निर्माण, वस्तु तथा सेवा खरिद गरेका हुन् ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ मा खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरी टुक्रा पारी खरिद गर्न नहुने र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८ मा वार्षिक खरिद योजना स्वीकृत गराई खरिद गर्नुपर्ने व्यवस्था उल्लेख छ । उक्त नियमावली विपरीत प्रदेश मन्त्रालय र मातहतका २० निकायले २७ करोड १७ लाख ४९ हजार रुपैयाँ मेशिनरी औजार एवम् फर्निचर खरिद, परामर्श सेवा, निर्माण लगायतका कार्यमा खर्च गरेको पाइएको हो ।

उक्त कार्य नियमसम्मत् नभएको महालेखापरीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहत ६ कार्यालयले ३ करोड २३ लाख ६३ हजार रुपैयाँको निर्माण कार्य र ५ कार्यालयले २ करोड ३६ लाख १८ हजार रुपैयाँको मालसामान समेत गरी ५ करोड ५९ लाख ८१ हजार रुपैयाँको दरभाउ पत्र लिइ सोझै खरिद गरेको पाइएको हो ।