६ बैशाख २०८१, बिहीबार

कृषिलाई व्यवसायीकरण गरी स्वदेशमै युवालाई रोजगार : मन्त्री कार्की

bhokaha karki

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषिलाई व्यवसायीकरण गरी स्वदेशमै युवालाई रोजगार सृजना गर्ने पक्षमा सरकार रहेको बताउनुभयो ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बुधबार सुखसेना नहर जल उपभोक्ता समन्वय समितिको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले देशको धेरै भूभाग कृषि योग्य भए पनि सिंचाई, मल र प्राविधिकको अभावले व्यवसायीकरण हुन नसकेकाले अब सरकारले कृषिलाई व्यवसायीकरण गरी स्वदेशमै युवालाई रोजगार सृजना गर्ने बताउनुभएको हो ।

मन्त्री कार्कीले कृषिमा आनुनिकीकरणसँगै व्यवसायीकरण गर्ने र त्यसका लागि देश नै जलस्रोतको धनी भएकाले सिंचाईमा समेत ध्यान दिने बताउनुभयो । खेर गइरहेका पानीलाई नहर, कुलो पैनीको माध्यमबाट किसानको खेतसम्म पुरर्याउने र कृषिलाई व्यवसायीकरण गरी विदेशीन हतारिएका युवाहरुलाई स्वदेशमै रोजगार सृजना गर्ने गरी आकर्षक कार्यक्रम ल्याउन सरकार तयारीमा रहेको बताउनुभयो ।

तराई मधेस क्षेत्र अन्नको भण्डार भनिए पनि देशका नागरिकका लागि अझै विदेशबाट अन्न आयात गर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई हटाउन र आफ्नै देशमा उत्पादन वृद्धि गरी विदेश पठाउने गरी काम गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि १२ महिना सिंचाईको आवश्यक भए पनि हालसम्म नभएकाले त्यसको अध्ययन र कार्यान्वयन गर्न सरकार कसरत गरिरहेको बताउनुभयो । जनउपभोक्ताहरुको ऐन कानुन र विधेयक बनाउनुपर्ने जिज्ञासामा मन्त्री कार्कीले केवल ऐन, कानुन र विधेयक, कार्यविधि मात्रै भएर नहुने भएकाले त्यसको कार्यान्वयनको प्रत्याभूत समेत हुन जरुरी रहेको बताउनुभयो ।

आफू यसैक्षेत्रबाट निर्वाचित संघीय सांसद भएकाले धेरै किसान, नागरिक र स्थानीयको पीडा र समस्या एवम सवाल थाहा भएकाले क्रमशः सम्बोधन गर्दै जाने बताउनुभयो ।

फरक प्रसंगमा नेपाल सरकार प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले यो वर्ष भित्र सबै नेपाली नागरिकलाई कोराना विरुद्ध खोप लगाउने सरकारको तयारी रहेको बताउनुभयो । नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएको र नागरिकको अभिभावक सरकार भएकाले सरकार अभिभावकत्व निर्वाह गर्ने बताउनुभयो ।

मन्त्री कार्कीले नियमित रुपमा आइरहेको खोप निरन्तर रुपमा उमेर समूह अनुसार दिँदै आएकाले खोप पूर्ण नभएसम्म सावधानी अपनाउन नागरिकमा अपिल समेत गर्नुभयो ।

समाजसेवी तुलसी प्रसाद श्रेष्ठको अन्तिम संस्कारमा सहभागी

यसैबीच, मन्त्री कार्की बुधबार विहान नेपाली कांग्रेस सुनसरी जिल्ला उपसभापति संजय श्रेष्ठका पीता तथा काग्रेंसका अग्रह नेता सुनसरी सदरमुकाम इनरुवा –९ बबिया निवासी समाजसेवी तुलसी प्रसाद श्रेष्ठको अन्तिम संस्कारमा सहभागी हुनुभएको थियो ।

श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएकोमा मन्त्री कार्कीले पार्टीको झण्डा ओडाएर चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठ परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्नुभयो ।

कोशीटप्पु वन्यजन्तु आरक्ष पीडितको गुनासो सुनुवाई

त्यसैगरी, मन्त्री कार्कीले बुधबार कोशीटप्पु वन्यजन्तु आरक्षमा कोशी गाउँपालिकाले आयोजना गरेको पीडितको गुनासो सुनुवाई कार्यक्रममा उठेका सवालमा मृगकुञ्जलाई राष्ट्रिय निकुञ्ज बनाउन आग्रह गरेकोमा त्यस बारेमा आफू सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले ५ पृष्ठको माग, सुझाव, सामाधानका उपाय सहितको ध्यानाक्रषर्ण पत्रको हकमा मन्त्री कार्कीले मागलाई सम्बोधन गर्न प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताउनुभयो ।

आफू सुनसरीबाटै चुनाव जितेर हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेकोले यस क्षेत्रमा नागरिकको हितमा सबै खाले पहल, प्रयास र योगदान गर्ने बताउनुभयो । मन्त्री कार्कीले आफूलाई अध्यक्ष अंसारीबाट काठमाडाैं र अहिले कोशीटप्पुमा आएको आरक्षको जग्गा राष्ट्रिय निकुञ्जको मापदण्ड अनुसार पुग्ने देखिएकाले आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभएकाले आफू सकारात्मक रहेको प्रतिवद्धता जनाउनुभयो ।

हाल १७५ वर्गकिलोमिटरमा फैलिएको आरक्ष निकुञ्ज बने अझै विस्तार हुनेछ । निकुञ्ज बनेपछि एकातर्फ हात्ती आतङ्क नियन्त्रणमा आउने र अर्कातर्फ विदेशी पर्यटक बढ्ने कोशीको जनप्रतिनिधिहरूको विश्वास छ । निकुञ्जको क्षेत्रफल ठूलो हुने भएकाले हाल बस्तीमा आएर आतङ्क मच्चाउने हात्ती निकुञ्जभित्रै नियन्त्रणमा रहन सक्ने तर्क स्थानीयको थियो । निकुञ्ज बनेपछि वन्यजन्तु तथा चरा हेर्नकै लागि पनि विदेशी पर्यटकहरू आउने सम्भावना बढ्छ ।

त्यससँगै स्थानीयवासीको व्यापार व्यवसाय बढ्छ । कोसी टप्पु चरा, अर्ना तथा सिमसारका लागि बढी परिचित छ । यो क्षेत्र जैविक विविधताका लागि विदेशीहरूको अध्ययन केन्द्र बन्ने सम्भावना छ । अध्यक्ष अंसारीका अनुसार कोसी टप्पुलाई राष्ट्रिय निकुञ्ज बनाउने, हात्ती आतङ्क रोक्ने, गलफरिया सिंचाइ आयोजनाको निर्माण थाल्नेलगायत प्रमुख योजना कार्यान्वयन गराउन मन्त्री कार्की सकारात्मक देखिनुभएको छ ।