१५ चैत्र २०८०, बिहीबार

मेरो प्रतिष्पर्घा एमालेका जगदिश कुसियैतसँग होईन, बेरोजगारी, गरीबीको अन्त्यसँग : मन्त्री कार्की

karki

नेपाली कांग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको चुनावमा आफूसँग चुनावी प्रतिष्पर्घामा रहेका नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतसँग नभई क्षेत्रमा रहेको गरीबी र बेरोजगारी अन्त्य गर्दै अझै कसरी बढीभन्दा बढी विकास गर्ने भन्ने विषयमा रहेको बताएका छन ।

चलचित्रकर्मीहरुले आयोजना गरेको कार्यक्रममा बुधवार इनरुवामा बोल्दै उनले पटक पटक अवसर पाएका कुसियैतसहित धेरैले यो क्षेत्रबाट अवसर पाएपनि बर्षौसम्म केही गर्न नसकेको भन्दै अहिलेसम्मका जनप्रतिनिधिले गरेको भन्दा तीन गुणा बढी काम आफूले पाँच वर्षमा गरेको दावी गरे।

उनले भने, ‘अहिलेसम्मका यहाँबाट जितेर गएकाहरुले गरेको भन्दा तीन गुणा काम मैले पाँच वर्षमा गरेको छु । अब फेरि जितेर गएपछि मैले यो क्षेत्रको अहिलेको भन्दा चार गुणा बढी विकास गर्छु ।’

मन्त्रीकार्कीले अहिले चुनावी मैदानमा आफ्नो अगाडि विकासको एजेण्डा लिएर कुनैपनि उम्मेदवार जान सक्ने स्थिति नरहेकोले उनीहरु मतदातालाई भाड्न जात र धर्मको कुरा गर्दै हिडेको भन्दै सुनसरी ४ का जनताले त्यस्तो षडयन्त्रलाई मंसिर ४ मा मतदात गरेर पराजित गर्ने विश्वास ब्यक्त गरे ।

आफ्नो क्षेत्रमा पर्ने इनरुवाका तीन वटा वडामा मात्रै आफ्नो कार्यकालमा डेढ अर्ब बढी रुपैयाको विकास भएको भन्दै चुनाव पछि अझै विकासको कामलाई अगाडि बढाउने गरी आफूले योजना तयार पारेको र निर्वाचनपछि त्यसलाई कार्यान्वयनमा लिएर जाने प्रतिबद्धता ब्यक्त गरे ।

आफूमाथि धार्मिक सहिष्णुता विथोल्न चाहनेहरुले सुनसरी ४ लाई पाकिस्तान बनाउन लागि परेको भनेर आरोप लगाईरहेको बताउँदै आफू जातीय र धार्मिक सद्भावको पक्षमा रहेकोले सुनसरी ४ लाई धार्मिक र जातीय सहिष्णुताको हिसावमा मुलुककै अग्रणी र सुन्दर क्षेत्र बनाउने धारणा राखे ।

स्थानीय र बाहिरको भएको मुद्दालाई चर्काएर भावनात्मक सेन्टिमेन्ट लिने प्रयास भईरहेको भन्दै आफू भोजपुरमा जन्मिएपनि प्रकाशपुरमा घरबार भएको र आफ्नो सम्पर्क कार्यालय इनरुवामा बनाएर जनताको सेवामा रहेकोले त्यस्तो आरोपको कुनै अर्थ नरहेको तर्क गरे ।

मन्त्री कार्कीले भने, ‘अधिकांश मानिसहरु यहाँ बाहिरबाटै आएर बसोबास गरिरहनु भएको छ । विभिन्न कारणले मानिसहरु बसाई सराई गरेर आएका छन । के यस्ता सबैलाई बाहिरको भने भोट चाँही कस्ले दिने ? मेरो जन्मस्थान भोजपुर भएपनि मैले आफ्नो कर्मथलो सुनसरीलाई बनाएको छु । यसमा म प्रतिबद्ध छु ।’