१६ बैशाख २०८१, आईतवार

चर्को व्याजविरुद्धको आन्दोलन रोक्न व्यवसायिक संगठनको निर्देशन

1377197111

बैंकहरुले ब्याज दर बढाएकाले व्यवसाय गर्न कठिन भएको भन्दै असन्तुष्ट व्यावसायिकले आन्दोलनका कार्यक्रम रोकेका छन् । चुनाव नजिकिँदै गरेका बेला आफूहरूका मागको सुनुवाइ नहुने र नयाँ सरकारसँग ब्याज दरका बारेमा छलफल गर्ने भन्दै व्यवसायीले आन्दोलन रोकेका हुन् । तर व्यवसायीको आन्दोलनका बेला मौन बसेका उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सले आन्दोलन स्थगित गर्न उर्दी जारी गरेपछि जिल्लाका व्यवसायी भने नेतृत्वप्रति असन्तुष्ट देखिन्छन् ।

कोरोना महामारीका बेला अधिक तरलताका कारण तल झरेको बैंकको ब्याज दर अहिले उच्च छ । महामारीका बेलामा ८ दशमलव पाँच-सात प्रतिशतमै ऋण पाउने गरेका व्यवसायीले अहिले औसतमा १२ दशमलव शून्य-छ प्रतिशत तिर्नुपरेपछि आन्दोलनमै उत्रिए । त्यति मात्र होइन, राष्ट्र बैंकले मार्गदर्शन नै बनाएर चालु पुँजी कर्जा २५ प्रतिशतमा झार्न भनेपछि व्यवसायीको आक्रोश झन् चुलियो । तर, चुनाव नजिकिएसँगै उद्योगी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्वाचन गराउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने भएकाले आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गर्दै बिहीबार ट्विट गरेका छन् । चेम्बर अफ कमर्सले पनि बिहीबार नै आफ्ना जिल्ला र नगरका समितिलाई आन्दोलन स्थगित गर्न भन्यो । तर चालु पुँजी कर्जाका विषयलाई लिएर पटक-पटक  राष्ट्र बैंकसग पुगेका व्यवसायीको साथमा महासंघको नेतृत्व भने थिएन । अहिले आएर आन्दोलन फिर्ता लिन आग्रह गर्ने नेतृत्वप्रति जिल्लास्तरका उद्योगी व्यवसायी असन्तुष्ट छन् । उनीहरूले यसलाई आन्दोलन कमजोर बनाउने प्रयासका रूपमा अर्थ्याएका छन् ।

त्यसो त व्यवसायीहरू आन्दोलित हुँदा नेपाल राष्ट्र बैंकका गभर्नरले समेत कुनै आश्वासन दिन सकेका थिएनन् । उल्टै आन्दोलन गरेर  ब्याज कम गर्न नसकिने जवाफ दिएका थिए । चुनावको मुखमा व्यवसायीले गरेको सुझबुझपूर्ण निर्णयलाई सरकारले सकारात्मक रूपमा लिएर उचित माग सम्बोधन गर्न पहल गर्नुपर्छ ।

    सम्बन्धित समाचार...