१४ बैशाख २०८१, शुक्रबार

पोखरीमा डुबेर बाख्रा चराउन गएका ५ बालिकाको निधन

death representative image

वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलको अहिरौलिया पञ्चायत शिवपुर बिर्ता गाउँमा पोखरीमा डुबेर बाख्रा चराउन गएका ५ जना बालिकाको निधन भएको छ ।

आज दिउँसो सवा दुई बजे बाख्रा चराउन गएका बालिकाहरुमध्ये एक जना पोखरीमा डुबेपछि एकले अर्कालाई बचाउने क्रममा ५ जनाकै डुबेर निधन भएको रक्सौल अहिरौलिया पञ्चायतका मुखिया भिखारी दासले जानकारी दिनुभयो ।

मृतक बालिकाहरूको शव पोखरीबाट निकालेर पोस्टमार्टमका लागि मोतिहारी अस्पताल पठाइएको रक्सौल अनुमण्डलको रामगढवा अञ्चलका सि आई सुनिल कुमारले जानकारी दिनुभयो ।

मृतक बालिकाहरूमा शिवपुर बिर्ता गाउँ निवासी रमेश महतो की १० वर्षीया छोरी सरिता कुमार महतो, भिखर महतोकी १० वर्षीया छोरी कौशल्या कुमारी र ८ वर्षीया छोरी सीमा कुमारी, बद्री महतोकी १० वर्षीया छोरी शोभा कुमारी, अवधेश महतोकी ११ वर्षीया छोरी सुगी कुमारीको निधन भएको जनाइएको छ ।

बाख्रा चराउने क्रममा पोखरीमा नुहाउन लाग्दा सुगी कुमारी पानी डुब्न लागेपछि उनलाई बचाउने क्रममा पाचैं जना बालिकाको पोखरीमा डुबेर निधन भएको अञ्चल सि आई सुनिल कुमारले जानकारी दिनुभयो ।