१९ बैशाख २०८१, बुधबार

कास्की अदालतका उपसचिव ३० हजार घुससहित रंगेहात पक्राउ

ciaa

कास्की जिल्ला अदालतका श्रेस्तेदार तीस हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलिले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई तीस हजार घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरपालिका-५ पर्स्याङको मदिरा पसलबाट उनी उक्त घुस रकमसहित पक्राउ परेका हुन्। मदिरा पसलमा मुद्दाका एक पक्षसँग घुस लिइसकेपछि उनी पक्राउ परेका हुन्।

अख्तियारको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले पराजुली पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै उपसचिवसमेत रहेका पराजुलीले घुस मागेका थिए।

सुरुमा पराजुलीले ५० हजार रुपैयाँ घुस मागेको खुलेको छ। तर बार्गेनिङका क्रममा ३० हजारमा कुरो मिलेपछि उनी घुस लिन रेस्टुरेन्टमा पसेका थिए। घुससहित पक्राउ परेका पराजुलीको कास्की जिल्ला अदालतबाट सर्वोच्च अदालत काठमाडौंमा सरुवा भइसकेको थियो।

पटक पटक विवादमा मुछिएका उनी रमाना पनि बुझेर काठमाडौं हिँड्ने बेला पक्राउ परेका हुन्। यसअघि बागलुङमा हुँदा पनि उनको भूमिका विवादास्पद देखिएको थियो। मुद्दामै गडबडी गरेको भन्दै बागलुङमा उनीमाथि आक्रमण भएको थियो।