१२ बैशाख २०८१, बुधबार

नेपालद्वारा सीमा नाका बन्द गर्न भारतसमक्ष प्रस्ताव,आवत–जावत रोक्ने तयारी

india nepal border

नेपालले कोरोना भाइरस (कोबिड-१९) को त्रास बढेपछि भारतसँगको सीमा नाकाबाट अत्यावश्यक सामाग्री आयातनिर्यात बाहेक मानिसको आउ-जाउ बन्द गर्ने प्रस्ताव भारतसँग राखेको छ। ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबारमात्र युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको थियो तर, भारतबाट आउजाउ रोकिएको छैन ।

सरकारी उच्चस्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार आफ्ना भारतीय समकक्षी एस जयशंकरसँग सम्पर्क गरी त्यस्तो प्रस्ताव राखेका हुन्। तर, भारतीय विदेशमन्त्री जयशंकरले त्यस विषयमा निर्णय गर्न भोलि बिहीबारसम्मको समय मागेको स्रोतले बतायो।

बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पनि सीमा नाका बन्द गर्ने या नगर्ने भन्ने विषयमा भारतसँग तत्काल वार्ता गर्नु पर्ने निष्कर्ष निकालेको थियो।

हवाई मार्गबाट औसत दैनिक १५०/२०० मानिस भारतबाट वा भारत ट्रान्जिट भएर आइरहेका छन् तर, स्थलमार्गबाट नेपाल आउनेको संख्या बढी छ । साथै सीमा नाकाबाहेक चोरबाटोबाट पनि आउजाउ गर्नेहरुको संख्या ठूलो छ ।

तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग भएर आउन रोक लगाए पनि रोजगारीका लागि भारत गएका नेपालीका साथै भारतीय नागरिकहरु निर्वाध रुपमा नेपाल आइरहेका छन् । उनीहरुलाई सीमा नाकामा ज्वरो मात्र नाप्ने गरिएको छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितहरु भेटिन थालेकाले सरकारले सीमा नाकाहरुमा कडाइ गर्नेबारे छलफल थालेको हो । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १३७ जनामा संक्रमण भेटिएका छन् । त्यसैले सरकारले भारतबाट अत्यावश्यकबाहेक आवत–जावतमा रोक लगाउने तयारी थालेको छ ।