१५ चैत्र २०८०, बिहीबार

पार्टी विभाजनमा नलाग्न एमालेको अपील, विगतलाई लिएर कसैमाथि भेदभाव र कारवाही नहुने आश्वासन

uml photo

नेकपा एमालेले छरिएर रहेका नेपालका वामपन्थी शक्तिहरुबीच एकताका लागि पार्टी सदैव तयार रहने निर्णय गरेको छ ।

मंगलवार ललितपुरमा बसेको पार्टीको स्थायी कमिटी बैठकले कम्युनिष्ट आन्दोलनमा होमिएका शक्तिहरुलाई वामपन्थी मूल प्रवाहमा समाहित गर्न नेतृत्वदायी भूमिका खेल्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्र वैचारिक मतभेद र सैद्धान्तिक वहस हुनु स्वभाविक भएको बताउदै यसको समाधान विभाजन नभएको निष्कर्ष पनि बैठकले निकालेको जानकारी दिनुभयो ।

उहाँले पार्टीबाट विभाजनको मनस्थितिमा पुगेका नेताहरुलाई मूलघरमा फर्कन अपील समेत गर्नुभयो । यसअघिका क्रियाकलापका आधारमा कसैमाथि भेदभाव र कारवाही नहुने निर्णय पनि स्थायी कमिटी बैठकले गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

सोमवार मध्यमार्गी नेताहरुले अघि सारेको १० बूँदे सहमति कार्यान्वयन गर्न सहमत भएसँगै अध्यक्ष केपी शर्मा ओलीले मंगलवार स्थायी कमिटी बैठक बोलाउनुभएको हो । मंगलवारको वैठकमा पार्टीभित्र तेस्रोधारका रुपमा चिनिएका स्थायी कमिटी सदस्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।