६ बैशाख २०८१, बिहीबार

जबजको युग सकियो अब समाजवादलाई अघि बढाउनु पर्छ : झलनाथ खनाल

Jhalanath Khanal
फाइल फोटो

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) को युग सकिएको बताउनुभएको छ ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले चन्द्रागिरि हिल्समा जारी पार्टीको केन्द्रीय कमिटीमा अडियो कलमार्फत सम्बोधन गर्दै जबजको युग सकिएको बताउनुभएको हो ।

उहाँले अब समाजवादतिर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेता खनालले भन्नुभयो, ‘पहिले पार्टी दर्ता गरौँ । कार्यदिशा, नीति, सिद्धान्तलाई अपडेट गरेर जनतालाई बुझाउँदै जाऔँ । जबजको युग सकियो । यसलाई अब अनुसरण गर्न सकिँदैन । अब हाम्रो कार्यक्रम भनेको समाजवादको कार्यक्रमलाई अघि बढाउनु हो । युग अनुसारको कार्यक्रम हामीले बोल्न सक्नुपर्छ । त्यही अनुसार कार्यक्रम निर्धारण गरेर जानुपर्छ ।’