१४ बैशाख २०८१, शुक्रबार

चितवनमा एमाले विभाजनको असर देखिएन, अधिकांश नेता संस्थापन पक्षमै खुले

umlctw

नेपालको राजनीतिमा निकै चर्चामा आउने जिल्लाको रुपमा रहेको चितवनमा एमाले विभाजनको असर खासै देखिएको छैन ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोगमा पुगेर नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ता गरिसक्दा पनि चितवनका अधिकांश नेता नयाँ दलको पक्षमा खुलेर लाग्न सकेका छैनन् ।

यद्यपि केशवलाल श्रेष्ठ र सीता बस्यालको नाम चितवनबाट नेपाल पक्षको पार्टीमा चर्चामा आएको छ । बस्याल नेकपा एमाले भारत प्रवास कमिटीमा काम गरेकी नेतृ हुन् भने श्रेष्ठ पनि पार्टी प्रवास कमिटी हुँदै किसान महासंघतिर काम गरेका नेता हुन् । कुनैबेला बामदेव गौतमले नेकपा एमाले फुटाएर नेकपा माले गठन गर्दा केशवलाल श्रेष्ठ अग्र मोर्चामा थिए ।

अहिले माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्दा चितवनबाट केन्द्रीय समितिमा श्रेष्ठ र बस्यालको नाम आएको छ । वैचारिकरुपमा दुवै नेता बहस गर्न सक्ने क्षमता राख्ने नेता भए पनि चितवनको जनस्तरमा भने धेरै लोकप्रिय नेता होइनन् । तसर्थ, उनीहरुले पार्टी छाड्दा खासै संगठनमा असर नपर्ने ओली पक्षीय नेताहरुको आकलन छ ।

असअघि पार्टी फुटाएर नेकपा माले गठन गर्दा देशभरबाट एक पनि सिट जित्ननसकेर बामदेवसहित श्रेष्ठ पनि फेरि एमालेमा फर्कनु परेको थियो । तसर्थ नयाँ पार्टी र चिन्हको प्रभाव जनस्तरमा खासै नरहने कतिपयको दाबी छ । तर, नेता श्रेष्ठ भने यो मान्न तयार छैनन् ।

उनले भने, ‘ तत्कालिन समयमा नेकपा मालेले उठाएको एजेण्डा ठिक छ भन्ने अहिले पुष्टि भएको छ । हामी वैचारिकरुपले सबल भएकोले चुनाव चिन्ह र नामले खासै असर गर्दैन ।

म किसान महासंघमा रहेर देशका सबै जिल्लामा पुगेर संगठन निर्माणमा जुटेको भएकोले पनि नयाँ पार्टीको संगठन राम्रो बन्ने छ ।’ श्रेष्ठले आफू सधै वैचारिकरुपमा नेतृत्वसँग मतभेद गर्दै आएकोले २० वर्षसम्म एमालेमा कुनै जिम्मेवारी नपाएको गुनासो गरे ।

उनले पार्टीको घोषणापत्र र विद्यान अनुसार एमाले अध्यक्ष ओली चल्न नसकेकोले नयाँ पार्टी गठन गर्नुपरेको दाबी गरे । उनले चितवनमा पहिलेदेखि नै ओली समूह र नेपाल समूह भन्ने रहेकोले अहिले कोही स्पष्ट नेपाल नेतृत्वको पार्टीमा नखुले पनि भविष्यमा माधव नेपालतिर धेरै नेता आउने दाबी गरे ।

यसअघि नेकपा एमाले नेपाल पक्षको नाममा जिल्ला अध्यक्ष बनेका पार्टीका पूर्वउपाध्यक्ष तेजेन्द्र खड्का पनि अझै पर्ख र हेरकै अवस्थामा छन् । उनले खुलेर नै नेपालको नयाँ पार्टीमा छु भन्न सकेका छैनन् ।

उनले भने, ‘ अहिले पार्टीको बैठक बसिरहेकोले एक दुई दिनमा नै केही निर्णय होला । पार्टीभित्र छलफल भइरहेकोले १० बुँदेको कार्यान्वयन भएर पार्टी एकताबद्ध हुने सम्भावना पनि देखिन्छ ।’

जिल्लामा धेरै वर्षअघिदेखि नेपाल पक्षमा रहँदै आएका पार्टी नेता कृष्ण खनाल अहिले वाग्मती प्रदेशको मन्त्री बनिसकेका छन् भने पूर्वचितवनका मेयरहरु नारायण वन, लालमणि चौधरी, गोपी नेपाल गरी सबै मेयरहरुले आफूहरु मूल पार्टी एमालेमा नै रहँदै आएको बताइसकेका छन् ।

नेकपा एमाले वाग्मती प्रदेशका सांसद विजय सुवेदीले चितवनमा माधव नेपालको पक्षमा को को छन् भनेर स्पष्ट भइनसकेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मध्यमार्गी भनिएका भीम रावलसहितका ५०÷६० जनासँग पार्टीभित्र छलफल चलिरहेकोले अहिलेनै चितवनमा पार्टी फुटको असर स्पष्ट छैन ।’

उनले भर्खर नयाँ प्रदेश सरकार गठन भएकोले पनि चितवनमा एमालेको शक्ति सन्तुलनमा केही फरक आएको बताए । उनले भने, ‘चितवनका एमाले नेता सुरेन्द्र पाण्डेको अब पार्टीभित्र कस्तो भूमिका हुन्छ ? उनी माधव नेपालको नयाँ पार्टीतिर जान्छन् वा जाँदैनन् । भन्ने विषयले पनि चितवनको एमाले राजनीतिलाई असर गर्छ ।’

धेरै वर्षअघि देखि माधव नेपाल पक्षमा खुलेर लाग्दै आएका माडीका एमाले नेता शिवजी गायक पनि अझै नेपालले गठन गरेको नयाँ पार्टीमा जाने वा नजाने स्पष्ट छैनन् ।

उनले भने, ‘ १० बुँदे कार्यान्वयनको अवस्था के आउँछ । त्यसपछि कता लाग्ने भन्ने स्पष्ट हुन्छ । यसको कार्यान्वयन भएमा चितवनमा फेरि कृष्णभक्त पोखरेलको नेतृत्वमा जिल्ला कमिटी बन्ने भएकोले म पनि स्वत जिल्ला कमिटीको सदस्य बन्छु । कार्यान्वयन हुनु राम्रो कुरा हो । ’

उनले एमाले अध्यक्ष केपी ओलीले अर्काे पक्षलाई धेरै पेलेर अगाडि गएकोले यो अवस्था आएको विचार राखे । सबै नेताहरु अहिले पर्ख र हेरको अवस्थामा रहेकोले आफू पनि त्यस्तै अवस्थामा रहेको उनले नारायणी अनलाइनलाई बताए । उनले १० बुँदेको कार्यान्वयन नभए आफू नयाँ पार्टी नेकपा समाजवादीमा लाग्ने विचार राखे ।

माधव नेपालको पक्षमा विगत लामोसमय देखि खुलेर लाग्दै आएका विद्यार्थी नेता साकार लामा पनि अहिले पर्ख र हेर को नै अवस्थामा छन् । उनले भने, ‘ १० बुँदे कार्यान्वयनको असर के हुन्छ पार्टीमा त्यसपछि मात्र चितवनमा माधव नेपालको नयाँ पार्टीमा को को जान्छन् स्पष्ट हुन्छ ।’ उनले पनि माधव नेपालको नयाँ पार्टीको पक्षमा खुलेर नै समर्थन गर्न चाहेनन् ।

चितवनमा नेपाल समूहमा हिजोदेखि खुलेर नै लाग्दै आएका एमालेका नेताहरु अहिले नयाँ पार्टी नेकपा समाजवादीमा उभिन सकेका छैनन् । सबैको चाहना एमाले नफुटोस् भन्ने देखिन्छ भने सबैको राजनीतिक गन्तव्य दोस्रो तहका नेताहरुले गर्ने निर्णयमा नै भर परेको देखिन्छ ।