६ बैशाख २०८१, बिहीबार

भित्तामा ४३ वर्षदेखि गाईजात्रा

poster herdai 2 1024x576 1

सामाजिक, राजनीतिक पात्र र प्रवृत्तिविरुद्ध अभिनय, गीत, संवादबाट व्यङ्ग्य गर्ने प्रचलन बढी पाइन्छ । पछिल्लो समय पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत पनि व्यङ्ग्य गर्ने प्रचलन बढ्दै गएको छ । जिल्लाको सवालमा भने भित्तेपत्रिका नै व्यङ्ग्यको गतिलो माध्यम बन्दै आएको छ ।

विगत ४३ वर्षदेखि जिल्ला सदरमुकाम चौताराको पुरानोबजारस्थित कृष्ण मन्दिरको भित्तामा व्यङ्ग्यले राम्रै स्थान पाउँदै आएको छ । हरेक वर्ष गाईजात्राको अवसरमा ठुला–ठुला पेपरमा मार्करपेनले स्थानीय राजनीतिक, सामाजिक, सांस्कृतिक र प्रशासनिक विकृति र विसङ्गतिविरुद्धका सामग्रीहरु व्यङ्ग्यात्मक रुपमा लेखिएर भित्ता टाँस्ने गरिन्छ ।

यस्ता सामाग्रीहरू हेर्न र पढ्न बालकदेखि वृद्धसम्मको घुइँचो नै लाग्ने गर्दछ । स्थानीय पात्र र प्रवृत्तिविरुद्ध मात्र नभई राष्ट्रिय मुद्दाका सवालहरूमा पनि कसिलो व्यङ्ग्य गरेका कारण शिक्षक, कर्मचारी, व्यापारी, राजनीतिकर्मी, पत्रकार लगायत स्थानीयले उत्सुकताका साथ पढ्ने र हेर्ने गर्दछन् ।

२०१७ सालमा तत्कालिन् राजा महेन्द्रले मुलुकमा पञ्चायती व्यवस्था लागू गरेपछि जनताको सम्पूर्ण अधिकार कुण्ठित गरियो । न त व्यवस्थाको बारेमा बोल्न पाइन्थ्यो, न त स्थानीय प्रशासनको बारेमा नै । स्थानीय प्रशासन र व्यवस्थाको ज्यादतीबाट हैरान भएका स्थानीय युवाहरूले २०३५ सालमा जुगल सांस्कृतिक परिवार गठन गरेपछि सोही सालको गाईजात्राबाट संस्थागतरुपमै व्यङ्ग्यात्मक भित्तेपत्रिका प्रारम्भ भएको पूर्वसांसद कृष्णराज श्रेष्ठले बताउनुभयो ।

आफ्नै नेतृत्व टाँसिएका त्यस्ता सामाग्रीहरू विशेषतः पञ्चायती व्यवस्थाविरुद्ध र स्थानीय प्रशासनको ज्यादती विरुद्धमा शिष्ट ढङ्गले प्रस्तुत गर्ने गरेको श्रेष्ठले बताउनुभयो । त्यो ताका अघिपछि व्यवस्था र प्रशासन विरुद्ध बोल्न र लेख्न पाइँदैनथ्यो, त्यसैले गाईजात्राको दिनमा ‘छुट’ हुने हँुदा हामीले यस्ता सामाग्रीहरू लेखेर टाँस्ने परम्परा सुरु गरेका थियौँ ।’ श्रेष्ठले भन्नुभयो ।

gai jatra patrika 1024x576 1

‘२०४६ साल पूर्वसम्म विशेषतः सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, पशुपति शमशेर लगायतका राजनीतिक व्यक्तित्वहरूको चरित्र र प्रवृत्तिहरू व्यङ्ग्यका सामाग्री हुन्थे । यसका अलावा स्थानीय स्तरका भक्तध्वज प्रधान, नेत्रविक्रम थापा, प्रमुख जिल्ला अधिकारी र प्रहरी पनि व्यङ्ग्यका गतिलो पात्र बन्थे । अहिले त जसलाई पायो, त्यसलाई व्यङ्ग्य गरिएको छ ।’ श्रेष्ठले भन्नुभयो– ‘गाईजात्रामा परम्परा धान्ने हैन विकृति मौलाउने काम भएको छ ।’

त्यसो त गाईजात्राको अवसरमा व्यङ्ग्य प्रस्तुत गर्ने नाममा अन्य प्रस्तुतिहरूमा पनि छाडा संस्कृति भित्रिएको छ । त्यसरी नै भित्तामा टाँस्ने गरेका यहाँका व्यङ्ग्य सामाग्रीहरू पनि छाडाबाट अछुतो रहन सकेको छैन । विगत केही वर्षदेखि भित्तामा टाँसिँदै आएको गाईजात्रे सामाग्रीहरू छाडा हुँदै आएको स्थानीयहरू बताउँछन् । छाडा कुरालाई छोडेर स्वस्थ व्यङ्ग्य गर्ने हो भने यसको महत्त्व र परम्परा झन् बढ्ने उनीहरूको भनाई छ ।

यस पटक भित्तामा टाँसिएका गाईजात्रे सामाग्रीहरूमा अश्लीलता र छाडापन केही कम भएको स्थानीय रवीन्द्र श्रेष्ठले बताउनुभयो । ‘यस्ता सामाग्री पूर्णरुपले बन्द गर्नुपर्छ, छाडा संस्कृतिले विकृति हट्दैन’ उहाँले भन्नुभयो ।

सोमबार गाईजात्राको अवसरमा टाँसिएका सामाग्रीहरूमा राष्ट्रिय राजनीति, सामाजिक विकृति, विसङ्गतिलाई मात्र व्यङ्ग्य कसेका छैनन्, स्थानीय प्रशासन, राजनीतिकर्मी र सधैँ अरूको समाचार लेख्ने पत्रकारहरूको चरित्र र गलत प्रवृत्तिमाथि पनि चोटिलो प्रहार गरिएको छ ।