७ बैशाख २०८१, शुक्रबार

विवादमा तेस्रो धार भनिएका नेताहरु र अध्यक्ष ओलीबीच एमालेमै रहने सहमति

cpn uml second gen neta

नेकपा (एमाले) विभाजनपछि माधवकुमार नेपालकाे नयाँ पार्टीमा नगएका तर नेपाल समूहमा रहेका नेताहरू एमालेमै रहने भएका छन् ।

नेकपा एमाले विवादमा तेस्रो धार भनिएका नेताहरु र अध्यक्ष ओलीबीच एमालेमै रहने सहमति भएको छ। ओली निवास बालकोटमा तेस्रो धार भनिएका नेताहरुसँग ओलीले छलफल गरेका थिए।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेको ‘तेस्रो धार’का नेताहरुसँगको छलफलपछि भोलि बिहान १० बजे स्थायी कमिटी बैठक बस्ने मिति तय गरिएको हो ।

नेकपा एमालेमा माधवकुमार नेपालसँग लागेका भीम रावल, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाललगायतका नेताहरु तेस्रो धारमा छन्। माधव कुमार नेपालले नयाँ पार्टी गठन गरेपछि उनीबाट अलग भएका उनीहरुलाई तेस्रो धार भन्न थालिएको हो।

आजको बसाइ सकारात्मक रहेको र मंगलबार स्थायी कमिटी बैठमा छुटेका विषयमाथि छलफल हुने नेता योगेश भट्टराईले जानकारी दिए। उनका अनुसार मंगलबारको बैठकपछि तेस्रो धार भनिएका नेताहरु एमालेमै बस्ने छन्।

एमाले महासचिव ईश्वर पोरेलले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजानका लागि बैठक बस्न लागेको बताए । उनले अब एमाले एकताबद्ध रहेको र केही व्यक्ति बाहिरिए पनि आमरुपमा पार्टी एक ठाउँमा उभिने बताए ।

यस्तै बैठकमा मध्यमार्गी धारमा रहेका नेताहरु पनि सहभागी हुने एमाले प्रवक्त प्रदीप ज्ञवालीले बताए । माधवकुमार नेपाल भने पार्टी विभाजनको बाटो हिँडिसकेकाले उनी नआउने आशय ज्ञवालीको थियो ।

“भोलिको बैठकमा सबै कमरेडहरु उपस्थित हुनुहुनेछ । त्यहाँबाट पार्टीलाई थप सुदृढ बनाउने निर्णय गर्ने छ,” उनले भने । विभाजनमा नगएकाहरुलाई रोक्नका लागि सो बैठकले आह्वान गर्ने उनको भनाइ छ ।

गत फागुनमा सर्वोच्च अदालतले नेकपालाई अवैधानिक भन्दै पूर्व माओवादी र एमालेलाई अलग अलग गराएपछि मिल्न नसकेको नेकपा एमाले अन्ततः फुटेको छ। माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन अयोगमा निवेदन दिएका छन्।