१३ बैशाख २०८१, बिहीबार

‘स्मार्ट काठमाडौं’का सडकमा फोहोरको डंगुर: मेयर शाक्य चुनाव जितेको चार वर्ष, काठमाडौं स्मार्ट सिटी भएन

fohor bidhya

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले चुनाव जितेपछि मात्र हैन, चुनावमा उठेदेखि नै काठमाडौंलाई स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको थियो । उहाँले चुनाव जितेर चार वर्षको कार्यकाल पूरा गरिसक्नुभयो । तर काठमाडौंलाई स्मार्ट बनाउनु भएन । अहिले काठमाडौंका सडकमा थुप्रिएको फोहोरले मेयर शाक्यको त्यो प्रतिबद्धतालाई गिज्याइँ रहेको छ ।

चितवनका पर्वनाथ सञ्जेल काठमाडौं आएको केही दिन भयो । गाउँको स्वच्छ हावापानीमा बस्दै आएका सञ्जेललाई काठमाडौं यति धेरै दुर्गन्धित होला भन्ने लागेको थिएन । तर काठमाडौं उहाँले सोचेको जस्तो पाउनुभएन ।

काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने स्थान सिसडोलको बाटो विग्रिएको भन्दै केही समय फोहोर घरमै व्यवस्थापन गर्न भनेको थियो । तर नागरिकका घरको डस्टबिन पनि भरिएपछि अहिले फोहर सडकमा आइपुगेको छ । काठमाडौंका चोक चोक फोहोरले भरिएकाछन् । नागरिकलाई बाटोमा हिड्न समेत समस्या छ ।

सिसडोलमा फोहोर फ्याक्न नसक्ने भन्दै महानगरपालिकाले फाहोर उठाएको छैन । जस्ले गर्दा दुर्गन्ध बढ्दो छ र नागरिकलाई विरामी पर्ने हो भन्ने चिन्ताले सताउन थालेको छ ।

सडक बिग्रिएको भन्दै महानगरले फोहोर व्यवस्थापनमा ढिलाई गर्न नहुने माग नागरिकको छ ।

काठमाडौंको सडकमा फोहोर थुप्रिएपछि केही ठाउँमा फोहोर उठाउन थालिएको छ । तर फोहोर बोकेर जाने गाडीका चालकलाई सिसडोल पुग्न सकिने हो कि हैन भन्ने चिन्ता छ । पानी परेपछि सिसडोल पुग्न सकिँदैन । सिसडोलमै भएको बेला पानी परेमा फर्कन पनि सकिँदैन । त्यसैले चालकहरु पानी नपरे मात्र सिसडोल जाने तयारीमा छन् ।

अमृतका अनुसार फोहोरको गाडी लिएर सिसडोलसम्म सहजै पुग्ने अवस्था छैन । तर सरकारले चाह्यो भने दुई दिन भित्रै त्यो सडक राम्रो हुन्छ र फोहोर लान सहज हुन्छ ।

सवारी चालक अमृतले भनेजस्तै सरकारले चाह्यो भने तत्कालै सिसडोलसम्म पुग्ने सडक निर्माण हुन्छ । तर जिम्मेवार निकाय सडक निर्माण कार्यमा मौन छ । र काठमाडौं महानगरपालिका एउटा सूचना निकालेर ढुक्कसँग बसेको छ । र त नागरिकले काठमाडौंलाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता गरेका मेयर शाक्यले डर्टी सिटी बनाउनु भएछ भनेर व्यङ्ग्य गर्न थालेका छन् ।