१५ चैत्र २०८०, बिहीबार

अफगानिस्तानमा रहेका ८२१ नेपाली सम्पर्कमा, ५०४ काे उद्भार

Nepali KTM return

विद्रोही तालिवान समूहले सत्ता कव्जा गरेसँगै अफगानिस्तानमा अलपत्रमा परेका ८२१ नेपाली सम्पर्कमा आएका छन् । सम्पर्कमा आएकामध्ये ५०४ जनाको उद्धार गरी नेपाल ल्याइसकेको छ ।

सम्पर्कमा आएका बाँकी ३१७ जनाको उद्धार कार्य जारी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

शनिबार टर्किस एयरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी जम्मा ३५ जनाको उद्धार गरी काठमाडौं ल्याएसँगै उद्धार गरिएको नेपालीको संख्या ५०४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

शनिबार साँझसम्म कन्सुलर सेवा विभागमा ३१७ जनाले विवरण दर्ता गराइ सकेका छन् । विवरण दर्ता हुनेक्रम जारी रहेको प्रवक्ता लम्सालले जानकारी दिनुभयो । थप नयाँ विवरणसहित मन्त्रालय जानकारी गराउने तयारी गरेको जनाएको छ ।

नेपालीको उद्धारका लागि हाल उद्धारमा सहयोग गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

उद्धारका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, नयाँदिल्लीबाट समेत सम्पर्क भैरहेको र काबुलस्थित सम्पर्क व्यक्तिको रूपमा सहयोग गरिरहनु भएका सुरेशचन्द्र शर्माले बाँकी नेपालीको उद्धार कार्यमा समन्वय तथा सहजीकरण गर्देआएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका मध्यएशिया, पश्चिमएशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको शनिबार छैठौ बैठक सम्पन्न भएको थियो । बैठकले त्यहाँबाट उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरुसँगको समन्वयबारेमा छलफल भएको मन्त्रमलयले जनाएको छ ।