१३ बैशाख २०८१, बिहीबार

चितवनमा सैनिक हत्याका अभियुक्त ढकालको बयान: चौबिसकोठीबाट व्यारेकमा छिरेर बन्दुक चोरेको हूँ

chitwan kanda

चितवनमा सैनिक हत्याका अभियुक्त भरतपुर महानगरपालिका २१ पार्वतीपुर रंगिलाका गंगाधर ढकाललाई चितवन प्रहरीले नेपाली सेनालाई बुझाएको छ ।

चितवन प्रहरी प्रमुख ओम अधिकारीले चितवन अदालतको आदेश अनुसार आफूहरुले ढकाललाई नेपाली सेनालाई बुझाएको जानकारी दिएका हुन् ।

गत साउन ७ गते भरतपुर महानगरपालिका–१७ सिमलडाँडामा खेत नजिक धादिङ निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय सैनिक जवान भरत गुरुङलाई गोली हानी हत्या गरेको आरोपमा चितवन प्रहरीले ढकाललाई पक्राउ गरेको थियो ।

चितवन प्रहरीले अभियुक्त ढकालले लुकाएको एसएमजी हतियारसमेत बरामद गरेको थियो । सो हतियार भरतपुरको सैनिक व्यारेकबाट हराएको भन्ने प्रमाणित भएपछि सो घटनाले नयाँ मोड लिएको छ ।

ढकाल पक्राउ परेपछि उनको बयानको आधारमा भरतपुर–८ बिसहजारी ताल जाने गेट आडको जंगलको झाडीबाट एसएमजी हतियार बरामद भएको थियो ।

हतियार सैनिक व्यारेकबाट हराएको भन्दै हतियार चोरीको आरोपमा अहिले दुई जना सैनिक जवानले जेल जीवन बिताइरहेका छन् । एकातिर निर्दाेष दुई जना जेलमा बस्ने र अर्काेतिर हतियार फेला पर्नुले नेपाली सेनाको छानबिन र अनुसन्धानमाथिनै प्रश्न चिन्ह लागेको छ ।

प्रहरी र सेनाको अनुसन्धानको क्रममा अभियुक्त ढकालले काठमाडौँबाट घरमा छुट्टीमा आएको समयमा चौबिसकोठीतिरबाट राति व्यारेक छिरेर हतियार चोरेको बताएका छन् ।

उनले भनेका छन्, ‘ मिति २०७५ सालको महिना याद भएन, जाडोको सिजन थियो । म काठमाडौंको महेन्द्र दल गणमा कार्यरत थिएँ । म यसअघि भरतपुर चितवनको सेनामा ब्यारेकमा करिब दुई वर्षजति काम गरेको थिएँ र काठमाडौं सरुवा भएर गएको थिएँ । भरतपुर चितवनको सेना ब्यारेकका बारेमा मलाई जानकारी थियो । म काठमाडौंबाट घरमा छुट्टीमा चितवन आएको थिएँ।

सो समयमा भरतपुर चितवनको सेनाको ब्यारेकको चौबिस कोठीतिरको तारबाट रातको करिब १० बजेतिर छिरेर करिब २ घण्टाजति झाडीमा लुकेर बसेको थिएँ ।

करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ। उक्त हतियार चोरेर घरको टौवामुनि लुकाएर राखेको थिएँ।

मैले टौवा फेर्ने बेलामा अर्को ठाउँमा लुकाएर राख्ने गरेको र फेरि टौवा बनेपछि सोही स्थानमा लुकाएर राख्ने गरेको थिएँ। उक्त चोरी गरेको हतियार लुकाएको घरमा कसैलाई थाहा थिएन । ’

अभियुक्त ढकालले हतियार चोर्नुको अभिप्रायबारे यसो भनेका छन् , ‘ मैले उक्त हतियार किन चोरेँ भन्ने मलाई थाहा भएन । चोरी गर्ने समयमा मेरो दिमागले काम नै गरेको थिएन ।

अभियुक्त ढकालको बयानसँगै दुई वर्षदेखि जेलमा रहेका दुई सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो ।