१४ बैशाख २०८१, शुक्रबार

एमालेले माग्यो लुम्बिनी प्रदेशका सभामुखको राजीनामा

uml rupandehi 5TakCQVlFU

एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको राजीनामा माग गरेको छ ।

आफुले कारबाही गरेका दुई सांसद वली र शाहीको सभामुखले पद जोगाइदिएपछि राजीनामा माग गरेको हो ।

एमालेले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ ।

उनीहरुमाथि पार्टीले गरेको कारवाहीलाई प्रदेशसभाले मान्यता नदिएको भन्दै आक्रोशित भएको हुन् ।

दलको ह्वीप उल्लंघन गरेको भन्दै उनीहररुमाथि कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो । तर आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई कारबाही गर्न नमिल्ने जवाफ दिएका थिए ।

सभामुख पूर्णबहादुर घर्तीको भूमिकामाथि प्रश्न उठाउँदै ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निज सभामुख आवद्ध नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश सदस्यहरुलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेशसभालाई २४ घण्टाभित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा एमाले संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निर्णय विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत छ ।

सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० वमोजिम नीजले पद अनुकूल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँछौ ।’

सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएपछि एमालेले पत्रकार सम्मेलन गरेर सभामुखको राजीनामा माग गरेको हो ।