२६ बैशाख २०८१, बुधबार

शाही र वलीलाई कारवाही नगरेसम्म एमालेले संसद चल्न नदिने

lumbini uml sansad
फाइल फोटो

नेकपा एमालेले लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ ।

एमालेले दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो । तर आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई कारबाही गर्न नमिल्ने जवाफ दिएका थिए ।

त्यसपछि पत्रकार सम्मेलन गरी एमाले संसदीय दलले सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताएको हो ।

सूर्य चुनाव चिन्ह लिएर हालसम्म एमाले संसदीय दलमा बसेका लुम्बिनी प्रदेशका सांसद अजय शाही सरकारमा सहभागी भएपछि लुम्बिनीको सत्ता राजनीति उनीमाथि केन्द्रित बनेको छ । विपक्षी एमालेले उनलाई कारबाही माग गर्दै निरन्तर संसद अवरुद्ध गरेको छ भने उनले आफू स्वतन्त्र रहेको दावी गर्दै आएका छन् ।

प्रमुख सचेतक भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म निज बिमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म हाम्रो दलले अगाडि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’

शाही भन्छन्ः म स्वतन्त्र हुँ

एमालेले कारबाही गरेका शाही गठबन्धन सरकारमा विनाविभागीय मन्त्री बनेका छन् । आज एक कार्यक्रममा उनले आफू स्वतन्त्र भएको दाबी गर्दै एमालेलाई कारबाही गर्ने कुनै आधार नभएको बताए । नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसँग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्काशन गर्न कारबाही प्रक्रिया अगाडि बढाएको भन्दै उनले कानूनी र राजनीतिक रुपमा यसको कुनै औचित्य नरहेको दावी गरे ।

गत प्रदेशसभा निर्वाचनमा हृदयेस त्रिपाठीको नेतृत्वमा रहेको तत्कालीन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौताअनुसार सुर्य चिन्हको प्रयोग गरी स्वतन्त्ररुपमै चुनाव जितेको उनको भनाइ छ ।

शाहीले भने, ‘मैले चुनावमा मात्रै चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु । मैले नेकपा एमालेको सदस्यता लिएको छैन ।’ राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार एमाले संसदीय दलको सदस्य आफू नभएको उनले दावी गरे ।

यता नेकपा एमाले लुम्बिनीले विधि र कानूनसम्मत नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने जनाएको छ । एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले शाहीलाई कारवाही नभएरसम्म संसद अवरोध जारी राख्ने बताए । उनले भने, ‘सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिकरूपमा एमालेकै हुन् । उनलाई असंवैधानिकरुपमा प्रतिपक्षले मन्त्री बनाउँदा पनि सभामुखले राजनीतिक पूर्वाग्रह राख्दै कारवाही नगर्नु आपत्तिजनक छ ।’

अजय शाहीले एमाले संसदीय दलका निर्णयहरुलाई हालसम्म मान्दै आएको बताउँदै श्रेष्ठले एमाले सरकारबाट बाहिरिएपछि गठबन्धनको सहायताले स्वतन्त्रको नाम जप्दै हिँड्नु गलत रहेको बताए ।