१३ बैशाख २०८१, बिहीबार

म हेलिकप्टर चढिन : शंकर पोखरेल

Shankar Pokharel
फाइल फोटो

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री हेलिकप्टर चढेर गृह जिल्ला गएकोप्रति लक्षित गर्दै स्टाटस लेखेका छन् । उनले फेसबुकमार्फत आफू लुम्बिनीको मुख्यमन्त्री हुँदा हेलिकप्टर प्रयोग नगरेको प्रष्ट पारेका हुन् ।

आफूले साढे ३ वर्ष मुख्यमन्त्री हुँदा फजुल खर्च नगरेको उनको भनाई छ । प्रदेश सरकारको कामका लागि हेलिकेप्टरको प्रयोग नभएको बताएका पोखरेलले मुख्यमन्त्रीका लागि नयाँ र महंगा गाडी नकिनिएको उल्ले गरेका छन् । औषधि उपचार खर्च राज्य कोषबाट नदिएको पनि पोखरेलले जनाए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आर्थिक मामिला मन्त्रालयको बेरुजु शून्यमा राख्न सकिएको उनको दाबी छ । ‘वास नबसेको अवस्थामा जिल्ला भ्रमण भत्ता लिइएन, उपलब्ध भएसम्म सरकारी गेष्ट हाउसको प्रयोग गरियो,’ उनले भनेका छन्, ‘यसरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आर्थिक मामिला मन्त्रालयको बेरुजु शून्यमा राख्न सकियो ।’

पोखरेलले यसलाई अहिलेको नेतृत्वले निरन्तरता दिन सक्दा सुशासनमा योगदान पुग्ने विश्वास व्यत्रल गरेका छन् । शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकप्टर चढेर गृह जिल्ला कालिकोट पुगेका थिए ।