१२ बैशाख २०८१, बुधबार

जान्नैपर्ने केही कुरा क्वाँटी कसरी, कति, किन खाने ?

kuwati

क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । “क्वाँटि” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले “क्वाति” वा “क्वाँटि” को अर्थ तातो सुप भन्ने बुझिन्छ ।

आज जनै पूर्णिमा । यस दिनको विशेष खान्की हो, क्वाँटी । त्यसो त हरेकजसो पर्वको आ–आफ्नै विशेष परिकार हुने गर्छ । जस्तो तिहारमा सेलरोटी, दशैंमा मासु, माघे संक्रान्तिमा कन्दमुल, असार पन्ध्रमा दही चिउरा ।

जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यसलाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ ।

चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ ।

शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाँटीको विशेषता छ ।[१][२] मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडीको मिश्रण नै क्वाँटी हो । धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । क्वाँटी जनै पूर्णिमाको विशेषता नै हो ।

हिन्दू धर्मावलम्बीहरूले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरूले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ । आज बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ ।

झ्ट्ट हेर्दा लाग्छ, यो खाने संस्कृतिको आधुनिक जीवनसँग कुनै साइनो छैन । यो त केवल आडम्बर हो । पुरातन संस्कार हो । परम्परा धान्नका लागि मात्र यसो विधि पुर्‍याउने हो ।

तर, हाम्रा पुर्खाले यस्ता संस्कार बसाएका होइनन् । यसमा केही सामाजिक, केही सांस्कृतिक, केही वैज्ञानिक रहस्य एवं महत्व हुन्छ । चर्चा गरौं क्वाँटीको ।

जनै पूर्णिमाको दिन विभिन्न गेडागुडी मिसाएर पकाइने एक झोलिलो खान्की हो यो । सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल लगायत थरीथरीका गेडागुडीको समिश्रणलाई भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि पकाउन योग्य मानिन्छ । यसरी पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ ।

परम्परागत हिसाबले हेर्ने हो भने क्वाँटीमा ९ थरीका गेडागुडी मिश्रण गरिन्छ । यसलाई भिजाउने, टुसा उमार्ने र पकाउने विधी पनि छ ।

अंकुरित गेडागुडी स्वास्थ्यका लागि राम्रो हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । साथै भिटामिन र मिनरल्सको स्रोत पनि हो यो ।

जनैपूर्णिमाका अवसरमा पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत देशका विभिन्न मन्दिरहरूमा पनि जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ । विहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ ।

खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो । क्वाटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरूले आफ्ना दाजुभाइहरूलाई हातमा राखी बानेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।

किन खाने क्वाँटी ?

हामीलाई थाहा भएकै कुरा हो, शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्व खानेकुराको माध्यामबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यक्ता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो ।

तर, हामी गेडागुडी भिजाएर त्यो अंकुराएपछि खान जाँगर चलाउँदैनौ । अंकुरित गेडागुडी एक पटक मात्र होइन, हरेक दिन आवश्यक हुन्छ शरीरलाई । जनै पूर्णिमा नै किन त ?

हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं । यतिबेला खेती किसानी गरेर थकित भएका हुन्छन् । खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त उर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेडागुडी अर्थात प्रोटिनले गर्छ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ ।

खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ ।

के छ अरु फाइदा ?

पोषणविद्का अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ ।

–तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ ।
–मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ ।
–रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
–रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।
– क्वाँटीले कब्जियतको समस्या हटाउँछ ।
–मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ ।

र, कति खाने ?

क्वाँटीलाई ज्वानोमा झानेर वा पकाएर खाने गरिन्छ । यो स्वादिलो परिकार पनि हो । तर, यसबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । क्वाँटी नियन्त्रित मात्रामा खानुपर्छ ।
किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँट सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्छ ।