१३ बैशाख २०८१, बिहीबार

प्रदेश २ : विद्यालय बन्द रहेको अवधिमा पनि दिवा खाजा कार्यक्रम अन्तर्गतको रकम निकासा

student
फाइल फोटो

प्रदेश २ का केही स्थानीय तहले सामुदायिक विद्यालयमा विद्यार्थीका लागि सञ्चालित दिवा खाजा कार्यक्रममा अनियमितता गरेको पुष्टि भएको छ ।

कोरोना संक्रमणको कारण ०७६ चैत ११ बाट ‘लकडाउन’ले गर्दा विद्यालय बन्द रहेको अवस्थामा पनि देशभरका ४१ वटा स्थानीय तहले विद्यालयलाई दिवा खाजा कार्यक्रमअन्तर्गतको रकम निकासा गरेको देखिएको छ । दिवा खाजा अनियमिततामा संलग्नमध्ये अन्य प्रदेशको तुलनामा प्रदेश २ कै स्थानीय तह धेरै छन् ।सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार धनुषाको सबैला नगरपालिकाले १ करोड १३ लाख रुपैयाँ, गणेशनाथ चारनाथ नगरपालिकाले ८१ लाख रुपैयाँ, जनकनन्दिनी गाउँपालिका धनुषाले ५५ लाख ९६ हजार रुपैयाँ तेस्रो चौमासिक अवधिको रकम निकासा गरेका छन् । यस्तै सिरहाको सिरहा नगरपालिकाले १ करोड ३८ लाख रुपैयाँ, रौतहटको फतुवा विजयपुर नगरपालिकाले ९७ लाख रुपैयाँ, गरुडा नगरपालिकाले ७७ लाख रुपैयाँ सम्बन्धित विद्यालयमा पठाएका छन् ।

यी लगायत मुलुकका २८ वटा नगरपालिकाले लकडाउन अवधिलाई समेत जोडेर दिवा खाजामा १४ करोड २१ लाख ६८ हजार ५८२ रुपैयाँ विद्यालयहरुलाई निकासा गरेको पाइएको छ । त्यसैगरी देशभरका १३ वटा गाउँपालिकाले १६६ वटा विद्यालयलाई लकडाउन अवधिमा समेत दिवा खाजामा ६ करोड ३ लाख ५६ हजार रुपैयाँ निकासा गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

रौतहटको दुर्गा भगवती गाउँपालिकाले १ करोड २१ लाख ७१ हजार रुपैयाँ, यमुनामाई गाउँपालिकाले ७४ लाख ९९ हजार रुपैयाँ, सप्तरीको छिन्नमस्ता गाउँपालिकाले ५९ लाख ८६ हजार रुपैयाँ, सर्लाहीको कौडेना गाउँपालिकाले ५४ लाख ७२ हजार रुपैयाँ निकासा गरेको जनाइएको छ ।

दिवा खाजाको रकम विद्यालयलाई निकासा दिँदा अभिभावकलाई नगदै वितरण गर्ने व्यवस्था नभए पनि रौतहटस्थित परोहा नगरपालिकाले बितेको वर्षमा अभिभावकलाई नगद रकम बुझाउने गरी दिवा खाजा बापतको १ करोड १७ हजार रुपैयाँ निकासा गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।