१५ चैत्र २०८०, बिहीबार

युएन मिसन प्रश्नपत्र चोरी प्रकरण : एसपी राणा हटाइए

Nepal police

राष्ट्रसंघीय शान्ति मिसनको प्रारम्भिक छनौट परीक्षाको प्रश्नपत्र चोरी प्रकरणपछि युएन महाशाखाका एसपी अनुपशमसेर राणालाई जिम्मेवारीबाट हटाइएको छ ।

सो महाशाखामा कार्यरत राणालाई उनकै दरवन्दी रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ ।

सो महाशाखामा रहेका एसपी राणालाई हटाएर एसपी गंगा पन्तलाई ल्याइएको प्रहरी प्रवक्ता बसन्त कुँवरले नागरिकखबरलाई जानकारी दिए ।

उनका अनुसार, छानविन समितिले दिएको सुझावका आधारमा परीक्षा सञ्चालन गर्न लागिएको छ । जवानदेखि एसएसपीसम्मको परीक्षा भदौ १७ गतेका लागि तय भएको छ ।

यसअघि नै प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरीलाई निलम्बन गरेको छ । राष्ट्रसंघीय शान्ति मिसनको प्रारम्भिक छनोट परीक्षाको प्रश्नपत्र चोरी र वितरणमा संलग्न तीन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

सइ जनक थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बम निलम्बन भएको हो । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई नोकरीबाटै हटाउने तयारी गरेको छ ।

स्रोतका अनुसार, कार्यालय सहयोगी बमले एसपीको घर्राबाट प्रश्नपत्र चोरी गरेर हवल्दार शाहलाई दिएका थिए । यसको योजनाकार शाह थिए । यूएन शाखामै कार्यरत सइ थापाले पनि प्रश्नपत्र लिएर आफन्तलाई दिएका थिए ।

प्रश्नपत्र चोरीमा संलग्न ११ जना तथा लापबारही गर्ने परीक्षा तयारी समितिका तीन प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले स्पष्टिकरण सोधेर विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका डीआइजी बसन्त लामाको नेतृत्वमा छानविन समिति गठन भएको थियो ।