८ बैशाख २०८१, शनिबार

अब चितवनबाटै लाइसेन्सको नविकरण हुने, मन्त्री पाण्डेले गरे पहिलो निर्णय

yatayat karyalaya chitwan

चितवनमै सवारी चालक अनुमती पत्र (लाइसेन्स) को नविकरण हुने भएको छ । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पहिलो निर्णयबाट चितवनको भरतपुरबाटै लाइसेन्स नविकरण गर्ने व्यवस्था गरेका हुन । अबको केही दिनपछि चितवनबाटै साना–ठूला सबै सवारी साधन चालकको लाइसेन्स नविकरण हुनेछ ।

यस्तै नयाँ लाइसेन्स लिनका लागि पनि चितवनको आँपटारीमा रहेको जग्गामा संरचना निर्माणको काम अघि बढाउने तयारी गरिएको मन्त्रालयका सचिव संजीव वरालले नारायणी अनलाइनलाई जानकारी दिए ।

यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा कर्मचारीको दरबन्दी थप गरेर लाइसेन्स नविकरणको काम गरिने छ । साथै मन्त्री पाण्डेले अनलाइनबाटै राजश्व तिर्न सकिने व्यवस्था गरेको नेपाल यातायात व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।

पुरानो नारायणी यातायातका प्रालिका निर्देशक शंकर गिरीले मन्त्रालयको निर्णयले चितवन र आसपासका जिल्लाका सबै सवारीसाधन चालकलाई खुसी बनाएको बताए ।