२४ बैशाख २०८१, सोमबार

ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’ भनेपछि चीन आक्रोशित, दियो गतिलो जवाफ

donald trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई चिनियाँ भाइरसका नामले चिनाएपछि चीनले आक्रोश व्यक्त गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिझियान झाओले चीनलाई कलंकित पार्नुअघि अमेरिकाले आफूलाई सुरक्षित राख्न आग्रह गरेका छन् । अमेरिकालाई चेतावनी दिंदै चीनलाई गाली दिनुभन्दा आफ्नो काममा ध्यान दिन भनेको छन् ।

गत हप्ता मात्र चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कोरोना भाइरसलाई एक षड्यन्त्र भन्दै अमेरिकी सेनाले चीनमा कोरोना भाइरस लिएर आएको आरोप लगाएका थिए । यो आरोप आधारहिन भएको भन्दै अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले अरुलाई दोष नलगाउन चीनलाई चेतावनी दिएका थिए ।

डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएका थिए । वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वव्यापी बनेको छ । झण्डै साढे सात हजार मानिसहरुले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार एक ट्वीट मार्फत कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’का नामले चिनाएका थिए । अमेरिकी प्रशासनका धेरै अधिकारीहरूले पनि यसलाई ‘चिनियाँ भाइरस’ भनेर सम्बोधन गरिरहेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिझियान झाओले ट्रम्पको ट्विटलाई चीनप्रतिको बदमासीको संज्ञा दिएका छन् । ‘हामी अमेरिकालाई गल्ती सुधार्न र चीन विरुद्धको आधारहीन आरोपहरू रोक्न आग्रह गर्दछौँ’, उनले भनेका छन् ।

तर अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनले गलत सुचना फैलाएको आरोप लगाएका थिए । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई लिएर कुनै खास समुह या क्षेत्रसंग जोड्नु गलत भएको बताएको छ ।