१२ बैशाख २०८१, बुधबार

सतर्क होऊ – कोरोना महामारी अब नेपालसहित दक्षिण पूर्वीएसियातर्फ सोझिँदैछ: डब्ल्यूएचओ

WHO 1

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड-१९) को महामारी अब नेपालसहित दक्षिण पूर्वीएसिया क्षेत्रमा फैलिन सक्ने भन्दै कडा चेतावनी दिएको छ।

यसविरुद्ध तत्काल प्रभावकारी उपाय नअपनाए स्थिति नाजुक बन्दै गएको उसको भनाइ छ। कोरोनाको संक्रमण विस्तार हुन नदिन चालिएका प्रयासहरु प्रभावकारी नभएको खण्डमा यसको अवस्था भयावह हुने भन्दै डब्लुएचओले यस्तो आग्रह गरेको हो ।

डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनेकी छन्, ‘हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिन अपनाउने सावधानी बढाउन जरुरी छ।’

यो संक्रमण फैलिन नदिन राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन्।

संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको र अवस्था नाजुक बन्नु अघि तत्काल कोरोना भाइरस विरुद्धका प्रयासहरुको दायरा फराकिलो बनाउनु पर्नेमा डब्ल्यूएचओले जोड दिएको छ ।

डब्ल्यूएचओले दक्षिण पूर्वीएसियाली क्षेत्रका रूपमा नेपालसहित ११ मुलुकलाई राखेको छ। तीमध्ये ८ देशमा कोरोना भाइरस संक्रमण देखिइसकेको छ। जसअन्तर्गत सबैभन्दा बढी थाइल्यान्डमा १ सय ७७ जना संक्रमित भएका छन्।

यस्तै इन्डोनेसियामा १ सय ३४, भारतमा १ सय २५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा ५ जना संक्रमित भेटिएका छन्।

यस्तै नेपाल र भुटानमा पनि १-१ जना कोरोनाबाट संक्रमित भएको डब्ल्यूएचओले उल्लेख गरेको छ। यद्यपि नेपालमा संक्रमित देखिएका व्यक्ति उपचारपछि अहिले स्वस्थ भइसकेको सरकारले दाबी गरिरहेको छ। एजेन्सी