१६ चैत्र २०८०, शुक्रबार

नयाँ पार्टी खोलेका माधव नेपाल सामु देखिएका पाँच चुनौति

madhav nepal
फाइल फोटो

झण्डै डेढ दशक महासचिवको रुपमा नेकपा एमालेको नेतृत्व गरेका माधवकुमार नेपालले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा नयाँ पार्टी खोल्ने जोखिम मोल्नुभएको छ । तर अब उहाँका सामु निकै ठुला चुनौति छन् । के के हुन सक्छन् त नेपालका चुनौति ?

विभाजनको सैद्धान्तिक आधार कमजोर

सामान्यतः वामपन्थी पार्टी फूट्दा सैद्धान्तिक विषय बढी उछालिन्छ । २०५४ सालमा एमाले फुट्दा पनि महाकाली सन्धि प्रमुख कारण थियो । त्यसकै आधारमा वामदेव गौतमसहितका नेताले संस्थापनलाई राष्ट्रघाती भन्दै नेकपा माले बनाए ।

तर यसपटक माधवकुमार नेपालसँग देखाउनैका लागि भए पनि ठोस सैद्धान्तिक आधार छैन । दुबै पक्षले मार्गदर्शक सिद्धान्तका रुपमा जनताको बहुदलीय जनवाद भनेका छन् । नेतृत्वबीचको इगो र शक्ति बाँडफाँट नै यसपटकको विभाजनमा मुख्य कारण देखिन्छ । त्यसैले माधव नेपालका लागि कार्यकर्तामा जाँदा सैद्धान्तिक मतभेद के थियो भनेर सोधिने प्रश्नको जवाफ दिन अप्ठेरो हुनेछ ।

फुटेर बनेका पार्टीको नराम्रो इतिहास

यसअघि ठूला पार्टी फुटेर बनेका पार्टी फस्टाएको इतिहास छैन । अधिकांश त पछि गएर मुल पार्टीसँग मिलेका छन् । वामदेव गौतम नेतृत्वको नेकपा माले पनि चुनावमा एक सिट पनि जित्न नसकेपछि फेरि एमालेमै विलिन भएको थियो । कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाएका शेरबहादुर देउवाले पनि त्यसलाई लामो समय चलाउन सक्नुभएन । नेता कार्यकर्ता सहजै नयाँ पार्टीमा नजाने प्रवृति नेपालमा देखिन्छ । त्यसैले यो इतिहास चिर्नुपर्ने ठुलो चुनौति अहिले माधवकुमार नेपालका सामु छ ।

आफ्नैको साथ नपाउँदा पर्ने प्रभाव

पार्टी विभाजनको निर्णय गर्नु अघि माधवकुमार नेपालसँग नेता कार्यकर्ताको ठूलो फौज देखिन्थ्यो । तर नयाँ दल दर्ता गर्ने बेला ती मध्ये धेरैले उहाँलाई साथ दिएनन् । पार्टी स्थायी समितिमा बहुमतमै रहेका नेपालले अन्तिममा भने औलामा गन्ने नेताको मात्रै सहयोग पाउनुभयो । त्यसमा पनि अधिकांश तेस्रो तहका छन् ।

यो अवस्थामा तल्लो तहका धेरै नेता कार्यकर्तालाई पार्टीमा आकर्षित गर्न नेपाललाई मुस्किल हुनेछ । अर्थात नयाँ पार्टीको सांगठनिक आधार सुरुवातमा सोंचेजस्तो नहुने प्रष्ट छ । अहिलेको सीमित शक्ति बढाएर ठुलो पार्टी बनाउनु नेपालको सामू अर्को चुनौति हो ।

पदलोलुपताको आरोप र पार्टीभित्र हुने विवाद

नयाँ पार्टी दर्ता हुनासाथ सरकारमा जाने माधवकुमार नेपालको तयारी छ । नेताहरुले सार्वजनिक रुपमै सरकारमा जाने बताइसकेका छन् । यसलाई एमालेले पद नपाएर पार्टी विभाजन गरेको अर्थमा प्रचार गर्न सक्नेछ ।

त्यसवाहेक सरकारमा जान पनि नेताहरुबीच हानथाप हुने संभावना छ । त्यसको संकेत अहिलेदेखि नै देखिइसकेको छ । यसले नेपालको नयाँ पार्टी शुरुदेखिनै विवादमा फस्न सक्छ । पद नपाउनेहरु फेरि एमालेमै फर्कन सक्नेछन् । त्यसैले पार्टीभित्र हुने पदीय विवाद मिलाएर कम्तिमा अहिलेकै शक्ति कायम राख्नु पनि नेपालका लागि सहज छैन ।

आसन्न चुनाव

संवैधानिक व्यवस्था अनुसार अब डेढ वर्षमा तीनवटै तहको चुनाव हुनेछ। नयाँ पार्टी भएकाले माधवकुमार नेपाललाई चुनावसम्म ठुलो शक्ति आर्जन भइसकेको हुनेछैन । यही अवस्थामा चुनावमा जाँदा नेपालको अवस्था सोंचेजस्तो हुनेछैन ।

उहाँसँग अन्य दलसँग तालमेलको विकल्प हुनेछ । तर तालमेल गर्दा पनि शक्तिका आधारमा सिट पाउने भएकाले नेपालको पार्टी गतिलो स्थितिमा रहन गाह्रो हुनेछ । आगामी तीन तहका निर्वाचन नै नेपालका लागि अर्को चुनौति हुनेछन् ।