१४ बैशाख २०८१, शुक्रबार

एमाले समाजवादी दर्ता हुनासथ मन्त्रिपरिषद् विस्तार हुन्छः अध्यक्ष प्रचण्ड

prachanda 2
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा प्रचण्डले एमाले समाजवादी गठन सँगै नयाँ परिस्थिति बनेको र अब मन्त्रिपरिषद विस्तार हुने बताउनुभएको हो ।

माधवकुमार नेपाल नेतृत्वको पार्टी दर्ता हुनासाथ सरकार विस्तार हुने प्रचण्डको भनाई छ । यसबारे प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहानमात्रै छलफल भएको पनि प्रचण्डले जानकारी दिनुभयो । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिला गर्नु हुन्न भन्नेमा आफूहरु पुगेको प्रचण्डले बताउनुभयो ।

प्रचण्डले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्न गठबन्धन सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको दाबी गर्नुभयो । ओलीद सरकारले संविधानलाई संकटमा पार्न अध्यादेश ल्याएको तर आफुहरुको उद्देश्य फरक रहेको उहाँको दाबी छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अब नयाँ विचारसहित गए मात्रै जनताको सेवा गर्न र समाजवाद स्थापना गर्न सकिने बताउनुभयो ।

भट्टराईले वैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि ‘अर्को केपी ओली’ हुने बताउनुभयो ।