१४ बैशाख २०८१, शुक्रबार

नेपालसहित १४ सांसदलाई पदमुक्त नगरे सभामुखलाई पदबाट हटाउने एमालेको चेतावनी

kp oli
फाइल फोटो

नेकपा एमालेले कारवाही गरिएका माधवकुमार नेपाल सहित १४ जना सांसदलाई छिटो पदमुक्त नगरे सभामुखलाई पदबाट हटाउने चेतावनी दिएको छ ।

आफुले कारवाही गरेको तीन दिनसम्म पनि सांसद पदमुक्त गरेको सूचना नटाँसेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।

ओलीले सभामुख सापकोटाको नामै लिएर पदमा बस्न र सदन चलाउन मन छ कि छैन भनेर प्रश्न समेत गर्नुभएको छ ।

सभामुखलाई महाभियोग लगाएर मात्रै हटाउन सकिन्छ, त्यसैले ओलीले घुमाउरो ढंगले त्यही चेतावनी दिनुभएको हो । ओलीले सभामुख सापकोटा माओवादी कार्यकर्ता बनेको आरोप पनि लगाउनुभयो ।

सभामुख वा माओवादी कार्यकर्तामध्ये एक रोज्न उहाँले चेतावनी दिनुभयो । यस्तै एमालेको एक टोलीले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई छिटो पदमुक्त गर्न भन्दै सभामुख सापकोटालाई भेटेर दबाब पनि दिएको छ । प्रमुख सचेतक विशाल भट्टराईसहितको टोलीले सभामुखको कार्यकक्षमै पुगेर तत्काल सूचना निकाल्न दबाब दिएको हो ।

सभामुख सापकोटाले भने १५ दिनभित्र कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने प्रावधानतर्फ एमालेको ध्यानाकर्षण गराउनुभएको थियो ।

कारबाहीको पत्र संसद सचिवालयमा दर्ता भएको १५ दिनभित्र संसद् चलेको भए सभामुखले पढेर सदनमा सुनाउने र नभए सूचना टाँसेर जानकारी गराउने कानूनी व्यवस्था रहेको भन्दै सभामुखले आफुले अध्ययन गरिरहेको जवाफ दिनुभएको हो ।

अलग पार्टी गठनको लागि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि एमालेले माधवकुमार नेपाल, सहित १४ सांसदलाई पदबाट हटाउन संसद् सचिवालयमा पत्र दर्ता गरेको थियो।