६ बैशाख २०८१, बिहीबार

एकै दिन थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३३ जनाको निधन

corona insurance

देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ११ हजार ९ सय ४६ वटा आरटी पीसीआर परीक्षण गर्दा २ हजार ३ सय २१ जनामा र ४ हजार ४ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ जना गरी ३ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म आरटी पीसीआर परीक्षणबाट ७ लाख ४२ हजार २ सय २८ जना र एन्टिजेन परीक्षणबाट ७८ हजार ३ सय ७७ जना गरी देशभर कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या ८ लाख २० हजार ६ सय ५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

आज थप २ हजार १ सय २६ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या कूल सङ्क्रमितको ९३ दशमलव १ प्रतिशत हो ।

मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ४० हजार ५ सय जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३७ हजार १ सय १४ जना होम आइसोलेसनमा र ३ हजार ३ सय ६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म १० हजार ४ सय २९ जनाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । यो सङ्ख्या कूल सङ्क्रमितको १ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा देशभरि ९१ हजार ११ जनाले कोरोनाविरुद्धको खोप लिएका छन् । मन्त्रालयका अनुसार हालसम्म ४८ लाख १७ हजार ९ सय ८५ जनाले पहिलो डोज खोप लगाएका छन् भने ३७ लाख ८ हजार ६ सय ८८ जनाले पूर्ण खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।