१३ बैशाख २०८१, बिहीबार

सरकारले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय

ros ktm 3

सरकारले कृष्ण जन्माष्टमी र गाईजात्रा पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीका दिन देशभर तथा भदौ ७ गते गाईजात्राका दिन उपत्यकामा सार्वजनिक बिदा र उपत्यका बाहिरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले काठमाडौँ–तराई मधेस द्रुतमार्ग आयोजनाका विभिन्न सहायक संरचनाहरू निर्माणका लागि मकवानपुर जिल्ला अन्तर्गतको कालभैरव र गौरीशङ्कर सामुदायिक बनको ५ दशमलव २२ हेक्टर राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न तथा त्यहाँका रूखहरू हटाउन स्वीकृति दिने निर्णय गरेको छ ।

यसैगरी, बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथीमा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने लगायतका निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।