२२ बैशाख २०८१, शनिबार

अमेरिकाका ५० राज्यमै कोरोना भाइरसको संक्रमण,लक डाउन हुन सक्ने

Coronavirus hits all 50 US states as death toll rises

एजेन्सी । अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको महामारी फैलिएको छ । पछिल्लो पटक पश्चिमी भर्जिनियामा पनि कोरोना संक्रमित भेटिए पछि सबै राज्यहरुमा कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको हो ।

अमेरिकामा अहिलेसम्म झण्डै ६ हजारजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण अमेरिकामा १०५ जनाको मृत्यु भएको छ ।

८ करोड ५ लाख जनसंख्या रहेको पश्चिमी भर्जिनियालाई लक डाउन गर्ने विषयमा दुई दिनमै निर्णय गरिने अधिकारीहरुले जनाएका छन् । यता ११ राज्यहरुसंगै फ्लोरिडामा पनि सबै बार र रेष्टुरेण्टहरु बन्द गर्ने निर्णय गरिएको छ ।

हिजो मात्र राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभित्र पनि आवतजावतमा प्रतिबन्ध लाग्न सक्ने बताएका थिए । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले भने गभर्नरहरुले आग्रह गरे अमेरिकी सेनाले फिल्ड अस्पतालहरु निर्माण गर्ने बताएका छन् ।

पेन्टागनका प्रमुख मार्क इस्परले अमेरिकी स्वास्थ्य विभागलाई ५० लाख मास्क उपलब्ध गराउने तयारी गरेको बताए । अमेरिकामा कोरोना भाइरसका कारण थप २६ जनाको मृत्यु भएपछि मृतकको संख्या १ सय १२ पुगेको छ ।

विश्वभर अहिलेसम्म झण्डै दुई लाखजनामा कोरोनाको संक्रमण भएको छ । त्यसमध्ये झण्डै ८ हजार जनाको मृत्यु भएको छ । करिब ६ हजार ४९९ जना संक्रमित भेटिएका छन् । १ सय बढी उपचार पछि निको भएका छन् ।

कोरोना भाइरस विरुद्धको अभियानका लागि अमेरिकी सैनिक पनि तयारी अवस्थामा रहेको जनाइएको छ । कुनै पनि राज्यका गर्भनरले आग्रह गरेमा कोरोना भाइरसको संक्रमण फैलिएको क्षेत्रमा सेनाले अस्पताल स्थापना गरी सेवा प्रदान गर्न सक्ने जनाइएको छ ।

यस्तै सेनाले १४ वटा आधिकारिक कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ, जसमा सेना बाहेकका व्यक्तिहरुको परीक्षण गरिने छ । एजेन्सी