१४ बैशाख २०८१, शुक्रबार

पद छोडेर एमाले पार्टीलाई ठूलो फुटबाट जोगाएँ : डोरमणि पौडेल

Dormani poudel
फाइल फोटो

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य डोरमणि पौडेलले पद छोडेर पार्टीमा फुट आउनबाट जोगाएको बताउनुभएको छ । आज बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै उहाँले १५ महिनाअघि आफूले पद छोड्दा पार्टीमा ठूलो फुट हुनबाट जोगाएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मलाई पद छोड्नुपर्दा कुनै दुख लागेको छैन । जसरी पनि १५ महिनापछी त पद् छोड्नै पथ्र्यो । अहिले छोड्दा पार्टीको ठूलो फुट हुनबाट जोगाएको छु । पार्टी भित्र हिजो गुट थियो । अब हुने छैन ।’

पौडेलले पार्टीलाई जोगाउनका लागि आफूले राजीनामा दिएको बताउँदै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पार्टी फुटको विरुद्धमा लाग्नु भएकाले आफूले मुख्यमन्त्री छोडेर उहाँलाई समर्थन गरेको बताउनुभयो ।

पौडेलले प्रदेशको मुख्यमन्त्रीबाट कसैको दबाब र प्रभावबाट राजीनामा नदिएको दावी गर्दै नेकपा एमाले पार्टी फुट्ने समयमा प्रदेशबाट सकारात्मक सन्देश दिन आफूले राजीनामा दिएर मार्ग प्रसस्त गरेको बताउनुभयो । उहाँले जनादेशबाट निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएर आफ्नै भनौदाहरुले जबरजस्ति बहिर्गमन गर्न बाध्य पारेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनलाई जोगाईराख्न पनि आफूले राजिनामा दिएको बताउनुभयो ।

निर्वतमान मुख्यमन्त्री पौडेलले अहिले बागमती प्रदेश सरकारको नेतृत्व मात्रै परिवर्तन भएको उल्लेख गर्दै एमाले विभाजानले सरकामा कुनै असर नपर्ने ठोकुवा गर्नुभयो । माधव नेपाल समूहमा गएका सबै बागमती प्रदेशका सदस्यले विथड्र गरिसकेको दाबी गर्दै दल विभाजनले एमालेको एकल बहुमत रहेको सरकारलाई कुनै असर नपर्ने बताउनुभयो ।

निवर्तमान मुख्यमन्त्री पौडेलले प्रतिकुलताबीच पनि साढे ३ वर्ष काम गर्दा असन्तुष्ट हुनुपर्ने कुनैपनि कारण नरहेको दाबी गर्दै अरु प्रदेशको भन्दा बागमती प्रदेशमा बढी काम भएको बताउनुभयो ।