१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभामा सबैभन्दा ठूलो रहेको दल दुई टुक्रा

kp oli madhav nepal

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको लामो विवादपश्चात अन्ततः एमाले बुधबार औपचारिक रूपमा फुटेको हो । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रहेको एमाले वरिष्ठ नेता नेपालको नेतृत्वमा नयाँ दल गठन भएको छ ।

नवगठित पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी)’ रहेको छ । पार्टी अध्यक्षमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल र वरिष्ठ नेतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नवगठित पार्टी नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
पार्टी केन्द्रीय सदस्य ९५ सदस्यीय र चुनाव चिह्नमा खुला किताब प्रस्ताव गरिएको छ । नेता पाण्डेका अनुसार प्रतिनिधि र राष्ट्रियसभाका ३१ सांसद र साबिक एमालेका ५८ केन्द्रीय सदस्यसहित ९५ सदस्यीय छन् । एमाले र माओवादी केन्द्रबीच एकतापश्चात बनेको नेकपा अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सुरु विवाद चर्किंदै गएपछि पार्टी फुटेको हो ।

सर्वोच्च अदालतको फैसलापश्चात एमाले व्यूँतिएपछि ओली र नेपालबीच कुनै सहमति हुन नसक्दा विभाजन भएको हो । ओली र नेपाल समूहका नेता रहेका कार्यदलले १० बुँदे प्रस्ताव गर्दै एकताका लागि दबाब दिएको थियो । दोस्रो तहका नेताको दबाबमा पार्टी एकताबद्ध बनाउन नसकिएपछि नयाँ दल गठन भएको हो ।

यसैबीच, पार्टी गठनपश्चात नेता नेपालले एमाले पुनर्गठन र रूपान्तरण महाअभियानमा एमाले समाजवादी गठन गरेको बताएका छन् । एमालेबाट विद्रोह गरी आफ्नो अध्यक्षतामा एमाले समाजवादी पार्टी दर्ता गरेपछि बुधबार वक्तव्य जारी गर्दै उनले एमाले पुनर्गठन र रूपान्तरण महाअभियानमा नयाँ पार्टी खोलेको उल्लेख गरेका छन् ।

‘नेकपा (एमाले) पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले) बाट वैधानिक रूपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौं,’ वक्तव्यमा भनिएको छ, ‘कम्युनिस्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रूपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ–आफ्नो ठाउँमा खट्नु हुन र सहयोग पु(याउनु हुन सबैमा हार्दिक अपिल गर्दछौं ।’ देश, जनता र कम्युनिस्ट आन्दोलनप्रतिको दायित्वबाट नपन्छिने बताउँदै उनले एमालेलाई नयाँ ढंगले पुनर्गठन र रूपान्तरित अभियान चलाउनु नै अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् ।

‘नेपाली कम्युनिस्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिरहन चाहन्छौं,’ नेता नेपालले भनेका छन्, ‘नेकपा (एमाले) ले स्थापित गरेको विचारको विविधतालाई आत्मसात गर्ने दृष्टिकोण, विधि र पद्दतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौं । यसका निम्ति नेकपा (एमाले) लाई नयाँ ढंगले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ ।’

ओली र नेपाल समूहबीच लामो समय विवाद रहेको बेला नेपाललाई साथ दिएका दोस्रो तहका नेता नयाँ पार्टीमा गएका छैनन् । आफूहरू पार्टी एकताकै पक्षमा रहेको भन्दै उनीहरू नयाँ पार्टीमा सहभागी नभएका हुन् । नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्षत्रय डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत शीर्षनेता नयाँ पार्टीमा गएका छैनन् ।

यसैबीच, एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाएको आरोप लगाएका छन् । लुम्बिनी प्रदेश पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले तत्कालीन नेकपाभित्रको राजनीतिक संकट निम्त्याउने पात्र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नै भएको आरोपसमेत लगाएका छन् ।

‘नेकपादेखि अहिलेको राजनीतिक घटनाको पृष्ठभूमि प्रचण्ड र उनलाई साथ दिनेहरू हुन्,’ उनले भने, ‘प्रचण्डको अस्थिर चरित्र नै राजनीतिक रूपमा विभाजनको मूल कारक हो । आन्दोलनकारी, अभियान्ताजस्तो देखिनुभयो प्रचण्डजी, त्यसैले माओवादी आन्दोलनका पुराना नेताहरू पाखा लाग्नुभएको रहेछ ।’ नेकपा एकतामा समेत प्रचण्ड इमान्दार नदेखिएको बताउँदै उनले ओलीलाई ‘एकताविरोधी’ बनाउन खोजिएको उल्लेख गरे ।

अध्यादेश ल्याएर एमाले विभाजन गराउने खेलमा समेत प्रचण्ड लागेको नेता पोखरेलको आरोप छ । पोखरेलले माधव नेपालकै कारण पार्टी फुटेको ठोकुवासमेत गरेका छन् । नेपालले एमालेलाई १५ वर्षसम्म ‘एकल नेतृत्व गरेको’ बताउँदै उनले ‘त्यस्तो नेताले अध्यक्ष हुन खोजेपछि नै समस्या सिर्जना भएको’ आरोप लगाए ।

प्रचण्डसँग मिलेर नेपालले ओलीलाई राजनीतिक रूपमा विस्थापन गर्न खोज्नु नै कम्युनिस्ट आन्दोलनको दुर्भाग्य भएको टिप्पणी उनको छ । समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।