१५ चैत्र २०८०, बिहीबार

अन्य दल फुटाउन भन्दै अध्यादेश ल्याएका ओली नै अहिले नयाँ अध्यादेशको प्रहारमा

kp oli madhav nepal
फाइल फोटो

सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको सबैभन्दा ठुलो मार नेकपा एमालेलाई परेको छ ।

यसअघि अन्य दल फुटाउन भन्दै यस्तै अध्यादेश ल्याएका केपी शर्मा ओली नै अहिले नयाँ अध्यादेशको प्रहारमा पर्नुभएको छ । पार्टी विभाजनपछिको असरका कारण एमाले र अध्यक्ष ओलीले अझै धेरै मुल्य चुकाउनु पर्ने संभावना छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल वैसाख ८ गते दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याउनुभयो । दल फुटाउन संसदीय दल र केन्द्रीय समितिमा कम्तिमा ४० प्रतिशत संख्या हुनुपर्ने प्रावधान संशोधन गरेर एकातिर मात्रै भए पुग्ने बनाइएको थियो ।

त्यतिबेला अध्यादेश ल्याउनुका पछाडी ओलीका दुईवटा उदेश्य भएको बताइन्छ । तत्कालिन समाजवादी जनता पार्टीमा विभाजन र अर्को तत्कालिन नेकपाबाट छुट्टिएर आफैले एमाले बनाउने । किनकि तत्कालिन नेकपामा प्रचण्ड नेपाल पक्ष बहुमतमा थियो ओली अल्पमतमा हुनुहुन्थ्यो ।

पार्टी फुटाउन लागेको भन्दै बहुमत पक्षले चर्को आलोचना गरेपछि ओलीले अध्यादेश फिर्ता गर्नुभयो । समाजवादी पार्टी र राजपा मिलेर जनता समाजवादी पार्टी बन्यो । अर्थात त्यतिबेला ओलीले चाहेका दुईवटै उद्देश्य पुरा भएनन् ।

एमाले बनाउने ओलीको चाहना पछि अदालतको आदेशका कारण पुरा भयो । तर पार्टीलाई एकिकृत राख्न भने उहाँ असफल हुनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीकै पदचाप पछ्याउँदै अहिले अध्यादेश ल्याएर ओली अध्यक्ष रहेको नेकपा एमालेलाई फुटाइदिनु भएको छ ।

पहिले अध्यादेश ल्याउँदा ओली निकट नेताले आफ्नो पार्टी नभई अर्को पार्टी बनाउन अध्यादेश ल्याएको सार्वजनिक रुपमा घोषणा गरेका थिए । त्यतिबेला ओलीले अन्य दलमाथि चलाउन खोजेको बन्चरो अहिले आफ्नै दल एमालेमाथि नै परेको छ ।

करिब दुई तिहाइ मतसहित सरकारको नेतृत्व गरेका ओलीको ओरालो यात्रा कायमै छ । उहाँलाइ प्रधानमन्त्रीबाट हट्नु परेको छ । दुई जना विश्वासपात्र शंकर पोखरेल र पृब्बी सुब्बा गुरुङ मुख्यमन्त्रीबाट बाहिरिनु परेको छ ।

बागमती र प्रदेश १ का मुख्यमन्त्री पनि अब धरापमा परेका छन् । अर्थात कुनै समयका निकै शक्तिशाली व्यक्तित्व केपी शर्मा ओली तत्कालिन नेकपामा विवाद शुरु भएयता निरन्तर खुम्चिनु पर्ने अवस्थाबाट गुज्रनु परेको छ ।

माधवकुमार नेपालले नयाँ पार्टी बनाएपछि कतिपयले अध्यक्ष ओलीलाई अब सहज हुने बताइरहेका छन् । तर अवस्था त्यस्तो देखिँदैन । किनकी अब माधवकुमार नेपालसँग प्रदेश एक र बागमति प्रदेशको सत्ता ढाल्नसक्ने शक्ति छ । केहीदिनमै दुबै मुख्यमन्त्री एमालेले गुमाउनुपर्ने हुनसक्छ ।

पार्टीभित्र पनि उहाँले सोँचेजस्तो सहज नहुने देखिइसकेको छ । पहिले नेपाल खनाल समूहमा रहेका धेरै नेता अहिले पनि पार्टीमै संघर्ष गर्ने भनेर बसेका छन् । उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुषाल, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, नेता सुरेन्द्र पाण्डे एमालेमै बस्नुभएको छ ।

नयाँ पार्टीमा नगएका यी नेताले अध्यक्ष ओलीलाई सच्चाएर एकता कायम गर्न प्रयास गर्ने बताइसकेका छन । अहिले संस्थापन समूहमै रहेका केही नेतासँग मिलेर यीनले पार्टीमा अन्तरसंघर्ष चलाउने तयारी समेत गरिसकेका छन् । त्यसवाहेक विभाजित अवस्थामा चुनावमा जानुपर्ने अवस्थामा अध्यक्ष ओलीले सोंचेजस्तो परिणामा आउने संभावना छैन ।

नेपालको नयाँ दल अन्य पार्टीसँग मिलेर चुनावमा जाने तयारीमा छ । यस्तो अवस्थामा आगामी चुनावमा नेकपा एमालेले ठुलो झट्का व्यहोर्नु पर्ने हुनसक्छ । तर यसका बाबजुद पनि नेकपा एमालेमा लामो समयदेखि चलिरहेको ल्याङ ल्याङ भने तत्कालका लागि सकिएको छ । आगामी दिनमा अध्यक्ष ओलीको रवैया कस्तो हुन्छ त्यसले नै उहाँ र नेकपा एमालेको अवस्था निर्धारण गर्नेछ ।