१३ बैशाख २०८१, बिहीबार

ओलीलाई विस्थापन गर्न खोज्नु नै दुर्भाग्य, माधव नेपालले ठूलो मूल्य चुकाउनुपर्ने छ

shankar pokhrel
फाइल फोटो

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमालेविरुद्धको षड्यन्त्रमा लागेका नेता माधव नेपालले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । पार्टीको १४ वर्षसम्म कार्यकारी प्रमुख भएका व्यक्तिले नै पार्टीलाई अहिलेको अवस्थामा ल्याएको उनले टिप्पणी गरे ।

बुटवलमा नेकपा एमाले बुटवलले आयोजना गरेको विधान मस्यौदा संशोधन सुझाव तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले पार्टीको एकता कायम गर्न, संविधान जारी गर्न र संविधानसभाको निर्वाचन सफल बनाउने भूमिकामा केपी ओली नै नायक रहेको तर्क गरे ।

केपी ओलीलाई विस्थापन गर्न खोज्नु नै दुर्भाग्य भएको भन्दै उनले माधव नेपाल समूहलाई आगामी दिनमा भारी पर्ने समेत चेतावनी दिए ।

नेता पोखरेलले भने, ‘नेकपा रहेकै समयमा प्रचण्ड र नेपालले ओलीलाई असफल पार्न खोजेको र पार्टीमा निषेधको राजनीति शुरु गरेका हुन् । निषेधको राजनीतिकै कारण माओवादी र एमालेबीचमा भएको सहमति टुटेको थियो ।’

पोखरेलले प्रचण्डको पार्टी सत्ता कब्जा गर्ने षडयन्त्र असफल भएपछि ओलीमाथि प्रहार गरेको कार्यकर्तालाई सुनाएका थिए । प्रतिनिधिसभा विगठन नेकपाभित्रको अन्तरसंर्घषको कारण नै भएको भन्दै उनले पार्टी असफल बनाउने र कब्जा गर्ने षडयन्त्रलाई विफल बनाउनको लागि योजनाबद्ध रुपमा प्रचण्ड लागेको आरोप लगाए ।