१ कार्तिक २०७८, सोमबार

कोरोनाबाट सागमा स्वर्ण पदक विजेता राईको निधन

krishna rai

दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ ।

नेपालमा सम्पन्न आठौं सागमा कराँतेमा स्वर्ण पदक जितेका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो । राईले आठौं सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

उनले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जितेका थिए । उनका श्रीमती र एक छोरा छन्।