१४ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरसबाट फुटबल प्रशिक्षकको निधन

football coach death

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित एक फुटबल प्रशिक्षकको निधन भएको छ। स्पेनका २१ वर्षीय फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोनाका कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उनी क्यान्सर रोगबाट पनि पीडित थिए।

मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबका प्रशिक्षक गार्सिया कोरोना भाइरसबाट संक्रमित बनेका थिए। उपचारकै क्रममा उनको निधन भएको समाचारमा जनाइएको छ। मालागा होए पत्रिकाका अनुसार, स्वास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए। कोरोना भाइरसको संक्रमणका कारण उनी निमोनियाबाट ग्रसित भएका थिए।

गार्सियोको मृत्युको समाचारलाई उनको क्लबले पनि पुष्टि गरेको छ।

‘दुर्भाग्य, फ्रान्सिस्को गार्सियाले हामीलाई छाडेर गएका छन्। हामी उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छौं। शोक सन्तप्त परिवारजन र उनका साथीभाइप्रति समवेदना व्यक्त गर्दछौं’, क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

गार्सिया एट्लेटिको पोर्टाडा क्लबमा चार वर्षअघि आबद्ध भएका थिए। उनीले क्लबको जुनियर टोलीलाई प्रशिक्षण गराउँथे। क्लबका प्रशिक्षक पेप ब्युनोले पनि मृतआत्माका चिरशान्तिको कामना गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। ‘फ्रान्सिस्को गार्सिया क्षमतावान् प्रशिक्षक थिए र त्योभन्दा पनि बढी उनी निकै असल व्यक्ति थिए’, अध्यक्ष ब्युनोले भनेका छन्।

‘आइतबार बिहान अस्पतालले मलाई टेलिफोन गरेर गार्सियाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको थियो। त्यसको केही समयपछि नै कोरोना र क्यान्सरका कारण उनको निधन भएको समाचार आयो। हाम्रा लागि त्यो विश्वासै गर्न नसकिने क्षण थियो’, ब्युनोले भने।

समाचारमा जनाइएअनुसार, कोरोनाले मृत्यु हुने गार्सिया सम्भवतः सबैभन्दा कम उमेरका व्यक्ति हुन्। यसअघि कोरोना भाइरसका कारण चीनमा एक ३६ वर्षीय व्यक्ति र गत साता इटालीमा ३८ वर्षीय व्यक्तिको निधन भएको थियो। त्यसभन्दा कम उमेरका व्यक्तिको निधन भएको यो पहिलो घटना हो।

कोरोना भाइरसका कारण हालसम्म स्पेनमा करिब तीन सय व्यक्तिको निधन भइसकेको छ। स्पेनमा आठ हजारभन्दा बढी व्यक्ति यो भाइरसबाट संक्रमित बनेका छन्। स्पेनको मालागा क्षेत्रमा कोरोनाका कारण निधन हुने गार्सिया पाँचौं व्यक्ति हुन्। मालागामा निधन भएका अन्य चार व्यक्ति भने कम्तीमा ७० वर्ष उमेरका थिए। एजेन्सी

    सम्बन्धित समाचार...