७ बैशाख २०८१, शुक्रबार

युरोकप फुटबल अर्को वर्षका लागि सर्‍यो

euro cup 2020

विश्वभर फैलिएको कोरोना भाइरसका कारण युरोकप २०२० सर्ने भएको छ । नर्वेजियन फुटबल फेडेरेसनकाअनुसार यो प्रतियोगिता अब २०२१ मा मात्र हुनेछ । युरोपियन फुटबलको नियमनकारी निकाय यूईएफएले मुख्य स्टेकहोल्डरसँग मंगलबार आकस्मिक भिडियो कन्फ्रेन्स गरेको थियो ।

सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म आयोजना हुने तय भएको युरो कप फुटबल एक वर्ष पछि सरेको छ। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण युरो कप एक वर्षपछि सारिएको हो।

युरोपेली फुटबल महासंघ (यूईएफए) को मंगलबार बसेको बैठकले युरो कप सन् २०२१ को जुन ११ देखि जुलाई ११ सम्म गर्ने निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अहिले मुख्यगरी युरोपमा कोरोनाको संक्रमण बढी देखिएको छ। कोरोना भाइरसको त्रासका कारण युरोपमा अधिकांश खेलकुद गतिविधि स्थगित गरिएका छन्। विश्व चर्चित युरोपियन लिग फुटबल प्रतियोगिताहरू पनि कोरोना भाइरसको मारमा परेको छ।

युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगदेखि इङ्लिस प्रिमियर लिग र स्पेनिस ला लिगासम्म कोरोना भाइरसको मारमा परेका छन्। कोरोना भाइरसकै त्रासका कारण इटालियन सिरिएका खेलहरू पनि स्थगित गरिएको छ। तर, इटालियन फुटबल महासंघले सिरि एको सिजन सफलतापूर्वक टुंग्याउन सोमबार मात्र युरोकप स्थगित गरिनुपर्ने माग अघि सारेको थियो। इटालियन फुटबलका अध्यक्ष ग्याब्रियल ग्राभिनाले युरोपियन फुटबल महासंघ (यूईएफए) को मंगलबारको बैठकमा युरो कप रोक्ने प्रस्ताव राखेका थिए। बैठकमा युरोपियन क्लब एसोसिएसन, युरोपियन लिग र खेलाडी संघका प्रतिनिधिलाई पनि आमन्त्रित गरिएको थियो।

कोरोना संक्रमण नभएको भए यो प्रतियोगिता १२ जुनदेखि १२ जुलाईसम्म युरोपको १२ स्थानमा हुने थियो । एजेन्सी