१३ बैशाख २०८१, बिहीबार

पछिल्लो समय कोराना सङ्क्रमितको चाप बढ्यो

Corona Dischargde

प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमण पछिल्लो समय बढ्दै गएको छ । सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन उच्च हुन थालेपछि प्रदेशका कोभिड उपचार अस्पतालका शयाहरू भरिन थालेका छन् ।

पूर्वी नेपालमा विशेष गरी सुनसरी, मोरङ र झापा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको देखिन्छ । सहरीकरण तथा अधिक जनघनत्व भएको तराईका जिल्लामा मात्र होइन, इलाम, धनकुटा र उदयपुर जिल्लामा पनि सङ्क्रमितको सङ्ख्या पछिल्लो समय बढ्दै गएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयको मङ्गलबारको तथ्याङ्क हेर्ने हो भने प्रदेश १ मा ८६० मा कोरोना सङ्क्रमण देखिएको छ । एक हजार ४१० को स्वाब परीक्षण गर्दा ४७० र एक हजार ४०४को एन्टिजेन परीक्षण गर्दा ३९० जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये झापामा १८४, मोरङमा १४५ र सुनसरीमा १०४ मा सङ्क्रमण देखिएको छ । त्यस्तै इलामका पन्ध्र र धनकुटाका सात जना सङ्क्रमित भएका छन् ।

पछिल्ला दिनमा स्वाब तथा एन्टिजेन परीक्षण गरिएका मध्ये करिब ३५ प्रतिशतसम्मको नतिजा पोजेटिभ आएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीले जानकारी दिनुभयो । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २१ को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएपछि कोभिड अस्पतालमा पनि बिरामीको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमितको उपचार गर्ने प्रदेश १ का चारवटा सरकारी अस्पतालमा बिरामीको चाप बढेको अधिकृत राजवंशीको भनाइ छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरमा रहेको कोसी अस्पताल र कोसी कोभिड उपचार अस्पतालका साथै भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालमा सङ्क्रमितहरूको चापसँगै शया भरिन थालेको छ ।

यसबाहेक निजी क्षेत्रबाट सञ्चालन हुँदै आएका विराटनगरको नोबल मेडिकल कलेज र विराट मेडिकल कलेज, झापाको बी एन्ड सी अस्पताल र बिर्ता सिटी अस्पताललगायतका कोभिड उपचार केन्द्रमा पनि कोरोना सङ्क्रमितको चाप बढ्दै गएको छ ।

कतिपय स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन र आइसोलेसन केन्द्र स्रोत, साधन र जनशक्तिको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेपछि सङ्क्रमितको अधिक भिड ठूला अस्पतालमा बढिरहेको चिकित्सकको भनाइ छ । सङ्क्रमितको चाप बढेसँगै अस्पतालमा चुनौती पनि थपिएको प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. विकास शाहको भनाइ छ ।