७ बैशाख २०८१, शुक्रबार

दबाबमा विद्युत प्राधिकरण

NEA Nepal

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब रुपियाँ नाफा र चुहावट नियन्त्रणमा पनि राम्रै सफलता पाएको नेपाल विद्युत् प्राधिकरण आर्थिक वर्ष २०७७/७८ मा कमजोर देखिएको छ । प्राधिकरणको ३६औँ वार्षिकोत्सवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुत गरेको प्रतिवेदनले उच्चदरमा नाफा खुम्चिएको, विद्युत् चुहावट बढेको, र आफ्नै आयोजनाबाट विद्युत् उत्पादनसमेत घटेको र विद्युत्मा भारतमाथिको निर्भरता बढेको तस्बिर देखाएको छ ।

आफ्नो चार वर्षे सेवाकाल सम्पन्न गरेर बिदाइ भएको करिब ११ महिनापछि सोही जिम्मेवारीमा फर्कनुभएका घिसिङले प्राधिकरणको खस्कँदो स्थितिको जिम्मेवार कोरोना महामारी भएको औँल्याउनुभयो । एकतिर आफ्नै नयाँ आयोजना उल्लेख्य रूपमा थप हुन नसक्नु तथा भएका आयोजनाको उत्पादन क्षमता ह्रास हुुँदा भारततर्पmबाट आयात बढाउन पर्दा प्राधिकरणले नोक्सानी बेहोर्नु परेको देखिएको छ ।

७० प्रतिशत घट्यो नाफा
अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ६८ करोड रुपियाँ खुद नाफा सुरक्षित गर्न सफल भएको प्राधिकरण अहिले पनि तीन अर्ब ५१ करोडमा सीमित हुन पुगेको छ । जुन ६९.९४ प्रतिशतले कमी हो । विद्युत् खरिद, चुहावट र सञ्चालन खर्च बढने तर आफ्नो उत्पादन बढाउन नसक्दा प्राधिकरणले नाफामा ठूलो धक्का बेहोरेको देखिन्छ । अघिल्लो आवमा बिजुली बेचेरै ७६ अर्ब ३१ करोड आम्दानी गरेको प्राधिकरण यो पटक ७१ अर्ब २८ करोडभित्र सीमित भएको देखिएको छ । बिजुली किन्ने खर्च भने यस पटक १८ प्रतिशतले बढेको देखाइएको छ ।

उत्पादन घट्यो, आयात बढ्यो
गत आवमा प्राधिकरणका जलविद्युत्गृहबाट कुल दुई अर्ब ८१ करोड युनिट विद्युत् उत्पादन भयो । आफ्नै उत्पादन ७ प्रतिशत घटेको तर समग्र विद्युत् खपतको चाप १२ प्रतिशतले बढेकाले समीक्षा अवधिमा प्राधिकरण भारतबाट किन्ने बिजुलीमाथिको निर्भरता बढाउन बाध्य भएको देखिन्छ ।

आव २०७६/७७ मा भारतबाट एक अर्ब ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आवमा ६३.४५ प्रतिशत बढी बिजुली किन्नुपरेको देखिएको छ ।

चुहावट बढ्यो
१५.२७ प्रतिशतमा झारिसकिएको चुहावटको अवस्था गत आवमा अझै घटाउने लक्ष्य रहे पनि १.९१ बढेर १७.१८ पुगेको छ । विद्युत् खपतमा भएको वृद्धि, कोभिड–१९ को कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रूपमा सञ्चालन गर्न नसकिएको र नियमित मिटर रिडिङ हुन नसकेको आदि कारणले उक्त चुहावटमा वृद्धि हुन गएको जिकिर कार्यकारी निर्देशक घिसिङको छ ।

उपलब्धिमा ग्राहक वृद्धि र तामाकोसी
प्राधिकरणले उपलब्धिका रूपमा यस तामाकोसी जलविद्युत् अयोजना सम्पन्न हुनुलाई प्रमुख भनेको छ । सम्बोधनका क्रममा घिसिङले भन्नुभयो, “राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिएको छ, यसलाई हामी प्रमुख उपलब्धि मानेका छौँ । ”

यस पटक ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भई ४५ लाख ३० हजार पुगेको छ । सामुदायिक संस्थातर्फका पाँच लाख ५० हजार ग्राहकसहित विद्युत् उपभोग गर्ने कुल ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको निर्देशकको प्रतिवेदनमा उल्लेख छ ।