१६ चैत्र २०८०, शुक्रबार

तालिबानले पहिलो पत्रकार सम्मेलनमा भन्यो–महिला अधिकार शरिया कानूनअनुसार हुनेछ

taliban first press meet

अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ ।

राजधानी काबुलमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षको संघर्षपछि देशलाई मुक्त गरेको र विदेशीलाई निकालेको जिकिर गरे ।

उनले यो देशका लागि गर्वको क्षण भएको बताउँदै अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने दाबी पनि गरे । आफूविरुद्ध लडेका सबैलाई माफी दिएको बताउँदै उनले बाह्य वा आन्तरिक शत्रु नचाहेको बताए ।

मुजाहिदले अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको पनि बताए । त्यस्तै शरिया कानून अनुसार महिलाको हक अधिकारप्रति प्रतिबद्ध रहेको जनाउँदै उनीहरु आफूहरुसँग काँधमा काँध मिलाएर काम गर्ने स्पष्ट पारे ।

उनले आफ्नो धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार भएको पनि बताए । त्यस्तै निजी क्षेत्रका सञ्चारमाध्यम पनि निष्पक्ष र स्वतन्त्र हुन पाउने जनाए ।

आफ्नो देशमा हुर्किएका युवाले देश नछोडून् भन्ने आफूहरूले चाहेको र युवाहरू देशको सम्पत्ति रहेको प्रवक्ता मुजाहिदको भनाइ थियो ।

सरकार गठनका लागि गम्भीर रूपमा काम भइरहेको र केही दिनमै त्यसबारे थप घोषणा हुने उनको भनाइ थियो । देश नियन्त्रणमा लिएसँगै कतारमा निर्वासित तालिबानका शीर्ष नेता स्वदेश फर्केका हुन् ।