१४ बैशाख २०८१, शुक्रबार

कलंकको अर्को टिका देउवा सत्ताको निधारमा

sher bahadur deuba
फाइल फोटो

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाको सत्ताको निधारमा कलंकको अर्को टिका लागेको बताएका छन् ।

दल विभाजनसम्वन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेको भन्दै रिजालले एमाले फुटाउन ल्याएको अध्यादेश कांग्रेसले पनि व्यहोर्नुपर्ने बताएका हुन् ।

पाँचौ पटक प्रधानमन्त्री बन्दा देउवाको सत्ताको निधारमा कलंकको अर्को टिका लागेको भन्दै उनले २०५४ सालको इतिहास नभुल्न आग्रह गरेका छन् ।

‘पाँचौँ पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवाको सत्ताको निधारमा कलंकको अर्को टिका लागेको छ’ उनले भनेका फेसबुकमा लेखेका छन्, ‘०५४ सालमा एमाले फुटायौँ भनेर दंग परेको कांग्रेस ०५९ सालमा आफैँ फुटेको इतिहास नभुल्नु राम्रो हुन्छ ।’

देउवा यसअघि चार पटक प्रधानमन्त्री हुँदै देश र कांग्रेसलाई कुनै फाइदा नभएको रिजालको भनाइ छ । उनले भनेका छन्– ‘०५२ मा उहाँ प्रम हुँदा माओवादी हिंसा सुरु भयो, ०५९ मा प्रम हुँदा कांग्रेस पार्टी फुटाउनुभयो अनि प्रतिगमन भयो, ०६१ मा प्रम हुँदा प्रजातन्त्रलाई ‘न्याय दिने’ गोरखाली राजाकहाँ बुझाउनुभयो, ०७४ मा प्रम हुँदा कांग्रेसलाई पराजित गराउनुभयो । यसटक प्रधानमन्त्री हुँदा देउवाले लोकतन्त्रलाई जराबाटै कमजोर र विकृत बनाउन दल फुटाउने अध्यादेश ल्याउनुभएको छ ।’