१६ चैत्र २०८०, शुक्रबार

काठमाडाैंकाे फाेहाेर व्यवस्थापनकाे विकल्प ‘बन्चरेडाँडा ल्याण्डफिल्ड साइट’ बन्न अझै समय लाग्ने

banchare danda

हाल काठमाडौँ महानगरपालिकाले सिसडोलमा रहेको डम्पिङ साइडमा फोहोर व्यवस्थापन गर्दै आएको भएपनि बाटोको कारण समस्या उत्पन्न भएको छ । अहिले महानगरको सबैभन्दा ठूलो समस्याको रुपमा फोहोर व्यवस्थापन रहेको छ । काठमाडौँको फोहोर व्यवस्थापनको बैकल्पिक उपायमा बन्चरे डाँडामा निर्माण हुँदै गरेको ‘ल्याण्डफिल्ड’ साइट हो ।

तर त्यो कहिले पूरा निर्माण हुन्छ कुनै टुङ्गो छैन । यता महानगरले १५ दिनका लागि घरबाहिर फोहोर ननिकाल्न भन्दै सोमबार सार्वजनिक सूचना जारी गर्दै आग्रह गरेको छ । वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार फोहोर व्यवस्थापनको वैकल्पिक उपायको रुपमा बन्चरे डाँडाको ल्याण्डफिल साइट रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“ल्याण्डफिल्ड साइटको वैकल्पिक उपायको रुपमा बन्चरे डाँडामा ल्याण्डफिल्ड साइट निमार्ण हुँदैछ तर कोरोनाको कारण निर्माणकार्य पूरा हुन सकेको छैन, त्यसको निर्माण कार्य पूरा भएपछि सरकारले उपयोग गर्न दिएमा समस्याको सामाधान हुन्छ ।”उहाँका अनुसार केही दिनदेखि परेको अविरल वर्षाका कारण बाटो बिग्रेर सिसडोलमा रहेको डम्पिङ साइटमा फोहोर व्यवस्थापनको काम अबरुद्ध छ ।

“फोहोर व्यवस्थापन हुन नसक्नुको प्रमुख कारण ल्याण्डफिल साइटको अभाव हो,”उहाँले भन्नुभयो,“सिसडोलमा फोहोरको पहाड छ विकल्पको रुपमा अरु ल्याण्डफिल साइट छैन,” प्रमुख राईले भन्नुभयो,“काठमाडौँमा फोहोर थुप्रिन सुरु भएको छ, यसको विकल्पको रुपमा नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरे डाँडामा ल्याण्डफिल्ड साइट निर्माण हुन लागेको हो, तर निर्माणको चरणमा रहेको ल्याण्डफिल्ड साइट कहिले पूरा हुन्छ अहिले नै भन्न सक्ने अवस्था छैन ।” फोहोरको वैकल्पिक व्यवस्थापका रुपमा अरु साइटहरु पनि नरहेको उहाँको भनाइ छ ।

स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरी करिब ३४ करोड ३८ लाख लागतमा ल्याण्डफिल्ड साइडको निर्माण हुँदै छ । स्थानीय दुर्गन्ध र पानी प्रदूषण जस्ता समस्या हुन सक्नेमा चिन्तित छन् भने त्यसको व्यवस्थापनका लागि फोहोरको उचित व्यवस्थापन होस् भनेर फोहोरबाट निस्केको पानीलाई व्यवस्थित गर्न पोखरी बनाउनेलगायतको काम हुँदै गरेको प्रमुख राईले गोरखापत्र अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो,“ सिसडोलको साइट जस्तो बन्चरेको साइट हुँदैन, यो आधुनिक तरिकाले निर्माण हुँदैछ ।” फोहोरको उचित व्यवस्थापन नभएको भन्दै सिसडोलका स्थानीयले भने पटक पटक गुनासो गर्नुपरेको छ ।

यो साइट फरक भएको आयोजनाको दावी छ । र स्थानीयलाई समस्या हुन नदिने जनप्रतिनिधिको प्रतिबद्धता पनि छ । सरकारले समयमै निर्माण सकाउनुपर्ने र स्थानीयसँग गरेको सम्झौता पूरा गर्नुपर्ने बन्चरे डाँडाको स्थानीयको माग छ । ल्याण्डफिल्ड साइट सञ्चालनमा आएपछि फोहोर उठाउन महानगर घरघरमा आउने जनाएको छ ।

    सम्बन्धित समाचार...