११ बैशाख २०८१, मंगलवार

सैनिक हत्याका अभियुक्त ढकालको मुद्दा सैनिक मुख्यालयले हेर्न चितवन अदालतको आदेश

chitwan kanda

सैनिक हत्याका अभियुक्त भरतपुर महानगरपालिका–२१ पार्वतीपुर रंगिलाका गंगाधरको मुद्दा सैनिक मुख्यालयले हेर्ने चितवन अदालतले आदेश दिएको छ ।

ढकालको कर्तव्य ज्यान, चोरी, हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा आज थुनछेक बहस गर्दै जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले सो मुद्दा सैनिक मुख्यालयले हेर्ने गरी आदेश सुनाएको हो । ‘दि फेमस महिन्द्र दल गण’ का सिपाही गंगाधर ढकालले आफ्नै गणका हुद्दा भरत गुरुङको हत्या गरेको आरोप छ ।

साउन ७ गते बिहान भरतपुर–१७ सिमलडाँडामा गोली हानेर सैनिक हुद्दाको हत्या घटनामा तीन वर्षअगाडि भरतपुर ब्यारेकबाट हराएको स्वचालित शट मेसिन गन (एसएमजी) प्रयोग भएको खुलेको थियो ।

भरतपुर–२१ पार्वतीपुर, रंगिलाका ढकाललाई साउन ७ मा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको गण हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ छ । धादिङको नीलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय गुरुङको शव साउन ७ को बिहान भरतपुर–१७ सिमलडाँडामा फेला परेको थियो । घटनाकै दिन प्रहरीले ढकाललाई भरतपुर–२० चनौलीबाट समातेको थियो ।

ढकाल पक्राउ परेपछि उनको बयानका आधारमा भरतपुर–८ बीसहजारी ताल जाने गेट आडको जंगलको झाडीबाट एसएमजी बरामद भएको थियो ।

एसएमजीमा प्रयोग हुने सात थान गोली पनि प्रहरीले भेटाएको छ । कालीबहादुर गणभन्दा पहिले भरतपुरमा दि फेमस महिन्द्र दल गण बसेको थियो । भरतपुर ब्यारेकका बारेमा जानकार ढकालले कालीबहादुर गण आएर बसे पनि हतियार चोर्न सफल भएका थिए । हत्या घटनाबारे प्रहरीले अनुसन्धान पूरा गरेर दायर मुद्दामा अदालतले आज आदेश सुनाएको हो ।

ढकालले गुरुङको बैंक खाताबाट नौ लाख रुपैयाँ झिकेर श्रीमती र बुबालाई बुझाएको पनि प्रहरी अनुसन्धानमा खुलेको थियो । गुरुङको चेकमा आफैंले दस्तखत गरेर ढकालले बैंकबाट पैसा निकाल्ने गरेका थिए ।

गुरुङको चेक बोकेर ढकाल साउन २ गते नै चितवन आएका थिए । भोलिपल्ट गुरुङको सही आफैंले गरेर ढकालले बैंकबाट नौ लाख रुपैयाँ निकालेको खुलेको थियो । त्योमध्ये एक लाख आफैंले राखेको, आठ लाख रुपैयाँ परिवारलाई दिएका थिए ।

साउन ५ मा गुरुङले ढकाललाई फोन गरेर आफू जग्गा पास गर्न चितवन आउन लागेको जानकारी गराएका थिए । त्यसपछि गुरुङलाई लिन ढकाल नै मोटरसाइकल लिएर काठमाडौं गएका थिए । ५ गते नै उनीहरू चितवन आएर होटलमा बसेको अनुसन्धानमा पाइएको थियो ।

गुरुङ भोलिपल्ट मात्रै भरतपुर–१९ शारदानगर टाउनमा रहेको आफन्तको घर गएको र ढकालले आफन्तको घरबाट ६ गते साँझ गुरुङलाई खाजा खान भनेर बोलाएका थिए । त्यसपछि मदिरा सेवन गराएर मोटरसाइकलमा राखेर विभिन्न ठाउँमा रातभर डुलाएपछि घटना भएको ठाउँमा ७ गते बिहान पाँच बजेतिर मात्रै पु¥याएको देखिएको थियो ।

घटनापछि ढकालले सौराहा चोकमा रहेको फुपूको घर गएर झोला छाडेका थिए । त्यसमा एसएमजीमा प्रयोग हुने सात थान गोली र सेनाको पोसाक थियो । यसअघि ढकाल पश्चिम चितवनको विभिन्न क्षेत्रमा बाख्रा चोरीमा पनि संलग्न रहेका थिए ।