६ बैशाख २०८१, बिहीबार

‘जनताले वी मिस केपी ओली भनिरहेका छन्’, यो मापसे सरकार हो: महेश बस्नेत

mahesh basnet
फाइल फोटो

नेकपा (एमाले)का सांसद् महेश बस्नेतले अहिले देशमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीको अभाव खड्किएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद् बस्नेतले वर्तमान सरकारले अघिल्लो सरकारका कामबाट केही सिक्नुपर्नेसमेत बताए । उनले अहिले पनि ‘वी मिस केपी ओली’ भनिरहेको समेत उल्लेख गरे ।

“अघिल्लो सरकारले चाइनाको वुहानबाट चाहे विद्यार्थीको उद्धार गर्ने कार्य होस् चाहे अफगानिस्तानमा सुसाइड बमबाट हत्या भएका १२ जना र २४ जनाको उद्धार गर्ने क्रममा जुन खालको भूमिका खेल्यो त्यो कुराबाट यो सरकारले सिक्नु आवश्यक छ,” बस्नेतले भने,“वर्तमान समयमा जनताले वी मिस केपी ओली भनिरहेका छन् ।”

उनले सरकारलाई जनताप्रति उत्तरदायी हुन पनि आग्रह गरे । साथै सांसद् बस्नेतले सरकारलाई तीन प्रश्न पनि गरे ।

“अफगानिस्तानमा अलपत्र परेको १५ हजार नेपालीलाई फिर्ता ल्यउने कुरामा सरकारले किन ढिला गरिरहेको छ ? अनलाइन फर्म भरेर समिति बनाएर सरकार पन्छिन मिल्छ ? जयसिंह धामी प्रकरणमा गठित १० दिने आयोग कहाँ बेपत्ता भएको छ जनताले खोजिरहेका छन्,” उनले सरकारलाई प्रश्न गरे ।

बस्नेतले शेरबहादुर देउवा नेतृत्वको सरकार ‘मापसे सरकार’ पनि भनेका छन् ।

परमादेशी सरकार भन्दा सत्तापक्षका माननीयहरूलाई चित्त दुखेको भन्दै बस्नेतले देउवा सरकारलाई ‘मापसे सरकार’ को उपमा दिएका हुन् । ‘माधव नेपालको आडमा, प्रचण्डको सहयोगमा शेरबहादुर देउवाले नेतृत्व गरेको हुनाले यो मापसे सरकार हो’, बस्नेतले भने ।

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर दल विभाजसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै सांसद बस्नेतले सरकारको आलोचना गरे । पुनःस्थापनाको डेढ महिनासम्म संसदलाई बिजनेश दिन नसक्ने सरकारले संसदीय इतिहासमै गलत काम गर्न खोजेको उनको टिप्पणी थियो ।

बस्नेतले केपी ओलीको मात्रै नभएर कांग्रेसका नेताहरूको उपचार खर्चबारे पनि छानविन गर्न माग गरे । उनले वीर अस्पतालको उपकरण खरिद र भीसी नियुक्तिबारे पनि छानविन हुनुपर्ने बताए ।

उनले न्यायालयभित्रका विकृतिहरू सतहमा आएको भन्दै संसदमा बहस हुनुपर्ने माग गरे । सर्वोच्च अदालतको संसद पुनःस्थापनासम्बन्धी फैसला त्रुटीपूर्ण रहेको भन्दै बस्नेतले गलत काम गर्ने न्यायाधीशलाई महाभियोग लगाउन पछि हट्न नहुने बताए ।