६ बैशाख २०८१, बिहीबार

तनहुँमा भाइरल ज्वरोको बिरामी बढे

fever

तनहुँमा अहिले कोरोना भाइरससँगै ज्वरो, रुघा र खोकीका बिरामी बढ्न थालेका छन् ।

अस्वस्थ्य खानपान, मास्क प्रयोगमा हेलचक्राई र मौसम परिवर्तनका कारण ज्वरोको बिरामी बढिरहेको चिकित्सकहरू बताउँछन् ।

पछिल्लो केही सातादेखि तनहुँका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको पाइन्छ ।

कोरोना महामारीको बेला उस्तै लक्षणसहित भाइरल ज्वरोका बिरामी अस्पताल पुग्ने गरेपछि दमौली अस्पतालमा अनिवार्य एन्टिजेन परीक्षणका व्यवस्था मिलाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.सुनिल पौड्यालले दैनिक ३० देखि ४० जना भाइरल ज्वरोको बिरामी आउने गरेको जानकारी दिनुभयो ।

उहाँले शहरी क्षेत्रमा लक्षण देखिए पनि फोन गरेर सल्लाह लिनेहरू बढी भए पनि ग्रामीण क्षेत्रबाट आउने अधिकांशमा भाइरल ज्वरोका प्रकोप बढिरहेको बताउनुभयो ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दैनिक १ सयको सङ्ख्यामा भाइरल ज्वरोको बिरामी आउने गरेका छन् । यहाँ यस्ता बिरामी जाँच गराई निमोनियाको लक्षण भए मात्र एन्टिजेन परीक्षण गरिने अन्यथा सामान्य प्रक्रियामा उपचार गराइएको अस्पतालले जनाएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले भाइरल ज्वरोका बिरामीबाट सजिलै सर्न सक्ने जोखिम भएकाले दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र धेरै चिसो वा फ्रिजमा राखिएका बस्तुको उपभोगमा सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।

दमौली अस्पतालका मेसु पौड्यालले कोरोना र भाइरल ज्वरोको अधिकांश लक्षण मिल्दोजुल्दो भए पनि बिरामी स्वयंले रोगको पहिचान गर्न सक्ने बताउनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमितमा उच्च ज्वरोसँगै श्वास प्रश्वासमा समस्या हुने र नाकबाट पानी नबग्ने समस्या देखिन्छ भने भाइरल ज्वरोका बिरामीमा मध्यम प्रकृतिको ज्वरो र खोकीको लक्षण देखिन्छ ।

यस्तै, घाँटीमा समस्या आए पनि श्वासप्रश्वासमा कठिनाइ नभए वा नाकबाट पानी बगेको खण्डमा भाइरल ज्वरोको लक्षण पहिचान गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

निषेधाज्ञा खुकुलो भएको र मानिसले जनस्वास्थ्यको मापदण्डको पूर्ण रुपमा पालना नगरेकाले भाइरल ज्वरोका बिरामी बढेको हुन सक्ने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी बताउनुहुन्छ ।

“अहिले अधिकांशमा रुघा खोकी र ज्वरोको प्रकोप देखिएको छ”, उहाँले भन्नुभयो, “मास्कको प्रयोगमा गम्भीर नहुँदाको परिणाम हो ।”

उहाँले जिल्लामा मास्क अभियान समेत प्रभावकारी नभएको गुनासो गर्नुभयो । नागरिक स्वयं सचेत नहुँदा कोरोना र भाइरल ज्वरोको प्रकोप उच्च बन्दै गएको उहाँको भनाई छ ।

एउटै लक्षण हुने भएकाले कतिपयले कोरोना भइसक्दा पनि भाइरल ज्वरो मात्रै होला भनेर परीक्षण नगर्दा त्यसले जटिलता ल्याउन सक्ने चिकित्सकहरूको भनाई छ ।

कोरोनाबाट र अरू खालका सङ्क्रामक रोगबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।