१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘रेड जोन’मा, निषेधाज्ञालाई थप कडा बनाउने तयारी

kathmandu lockdown

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ ।

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन ।

स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौंलाई कोरोनाको रेड जोन मानेपछि निषेधाज्ञाको स्वरुपसमेत थप कडाइ गर्नुपर्ने अवस्था आएको प्रशासनको भनाइ छ ।

संक्रमणको दर कम हुनेभन्दा बढ्दो गतितर्फ रहेकाले प्रसासनले थप संक्रमण दरको समीक्षा गर्दै निषेधाज्ञाको कडाइमा आवश्यक निर्णय लिने तयारी प्रशासनको छ ।

महामारीप्रति सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको सर्वसाधारणले पालनामा बेवास्ता गर्दा समेत संक्रमण बढेको प्रशासनको ठम्याइ छ ।

प्रशासनले सर्वसाधारणलाई जथाभावी भीडभाड नगर्न, मास्कको प्रयोग गर्न र बिनाकाम घरबाहिर ननिस्कनसमेत आग्रह गरेको छ । आइतबारसम्म उपत्यकामा ११ हजार ७८६ जना सक्रिय संक्रमित रहेका छन ।

काठमाडौंमा मात्रै आठ हजार ४ सय ३० जना सक्रिय संक्रमित छन । ललितपुरमा एक हजार ९ सय ७० र भक्तपुरमा एक हजार ३ सय ८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउछ ।